खाेज्नुहाेस

बझाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद

Image

बझाङ – एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् । एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो ।

एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूचीसमेत प्रकाशित गरिएको छ ।

attariya hospital
navjiwan hospital

‘सबै क्षेत्र, भूगोल, मनोभावना र मनोविज्ञान मिलाएर जाऔं भन्दा एकलौटी गर्न खोजेपछि दुईवटा सूची सिफारिस भयो,’ केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने, ‘निर्वाचनको प्रक्रिया नगरी, उम्मेदवारी दिएकाहरुले फिर्ता नगर्दै मनोमानी ढंगले सूची निकालेपछि हामीले पनि अर्को सिफारिस गरेका हौं ।’ उनले आफूहरुको समूहले सिफारिस गरेको सूचीमा पनि प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको सिफारिस रहेको दाबी गरे । ‘अब प्रदेश र केन्द्रले नै यहाँको विषय टुंगो लगाउँछ,’ उनले भने ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनलगत्तै देखिएको केन्द्रीय सदस्य ऐन महर र भैरवबहादुर सिंहबीचको गुटबन्दी बझाङ एमालेमा झन् कसिलो बन्दै गएको छ । महर पक्षका जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले निर्वाचन कमिटीले सम्पूर्ण प्रक्रिया पु¥याएर प्रतिनिधि छनोट गरेकाले त्यही सूची नै आधिकारिक हुने बताए ।

‘सबैको सहमतिमा निर्वाचन कमिटीलाई नै प्रक्रिया पुर्याएर प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिइएको हो । सोहीअनुसार आएको सूचीलाई जिल्ला कमिटी र सचिवालयको बैठकले पनि अनुमोदन गरी पठाएको छ,’ उनले भने, ‘सबै निर्णय भइसकेपछि अर्को सूची आएको छ । उहाँहरुले के गुर्न भएको हो, त्यो मलाई थाहा छैन ।’ उनले निर्वाचन कमिटीले दुवै सूची सिफारिस गरेको बारे आफूलाई जानकारी नभएको बताए । उनले सबै केन्द्रीय कमिटी सदस्य, जिल्ला इन्चार्ज लगायतको सहमतिमा नै प्रतिनिधि छनोट गरिएको दाबी गरे ।