बझाङ – चैनपुर–ताक्लाकोट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो । बझाङ सदरमुकामबाट करिब आठ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने सवारी साधन ठप्प भएका छन् । पक्की सडक भासिएपछि नजिकै रहेका केही घरहरू पनि जोखिममा परेका छन् ।

‘बर्खामा नै सडक अलिअलि दब्न थालेको थियो । अहिले पूरै भासिएको छ,’ सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले भने, ‘आठ मिटर जति सडक भासिएको छ । सतहभन्दा झन्डै सात मिटर तलबाट भासिएको देखिएको छ ।’

उनले तत्काल अस्थायी रूपमा मर्मत गर्नका लागि काम सुरु गरिसकेको बताउँदै शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए । स्थायी रूपमा निर्माण गर्नका लागि ठूलो पर्खाल लगाउनुपर्ने भएकाले अध्ययन भइरहेको उनको भनाइ छ ।
बझाङलाई चीनको ताक्लाकोटसँग जोड्ने यो सडकको ४० किलोमिटरसम्म यातायात सञ्चालन हुने गरेको छ । तलकोट र साइपाल गाउँपालिकाका स्थानीय, साइपाल क्षेत्रमा आउने पर्यटकहरूले यो सडक प्रयोग गर्छन् ।















