खाेज्नुहाेस

क्युएएको दौडमा दुर्गालक्ष्मी, विश्वविद्यालय अनुदान आयोगको टोलीले अनुगमन गर्दै

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको टोलीले अनुगमन गरिरहेको छ । आयोगको टोलीले गुणस्तर सुनिश्चितता तथा प्रत्ययन अर्थात् क्वालिटी एसुरेन्स एक्रिडेसन (क्युएए) प्रमाणपत्र दिनका लागि अन्तिम चरणको मूल्याङ्कन अनुगमन गरिरहेको हो । जसअन्तर्गत मंगलबार आयोगको पीआरटी टोलीले क्याम्पसको बारेमा जानकारी लिएको छ । क्याम्पसको बारेमा अन्तिम मूल्याङ्कन गर्नका लागि पुगेको टोलीले पहिलो दिन मंगलबार सामान्य जानकारी दिए पनि बुधवार देखि मंसिर १३ गते सम्म प्रत्यक्ष रूपमा अध्ययन गर्ने छ ।

पीआरटी संयोजक प्रा. डा. तीर्थ राज खनियाले क्वालिटी एसुरेन्स गर्ने कम आफैमा चुनौतीपूर्ण भएको बताए । उनले क्वालिटीको मापदण्ड नै समय अनुसार परिवर्तन हुने क्वालिटी एसुरेन्स गर्न निकै चुनौती भए पनि विश्वविद्यालय अनुदान आयोगले एउटा मापदण्ड बनाएर सर्टिफाइ गरिने बताए । उनले क्याम्पसले क्वालिटी एसुरेन्सका लागि चासो देखाएकाले प्रक्रिया अगाडि बढेको बताउँदै उनले कागजपत्रमा प्रक्रिया पुगे पनि आयोगले थप स्थलगत अनुगमन गर्ने बताए । उनले क्वालिटीको मापदण्ड पुरा गरेर मात्रै नहुने भएकाले यसलाई आगामी दिनमा निरन्तरता दिइन्छ या दिइँदैन भन्ने कुरा पनि हेरिने बताए । उनले आफूले सोचेकोभन्दा बढी क्याम्पसमा सुधार भएको पाएको बताउँदै उनले भौतिक संरचना लगायतमा उल्लेख्य सुधार भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले क्युएए सर्टिफिकेट र केही अनुदान पाउन लागि मात्रै बन्न नहुने बताए । ‘क्युएए सर्टिफिकेट पाएपछि एक दुई भवन बनाउनको लागि, एक दुई कन्फ्रेन्स गर्नको लागि मात्रै होइन’ उनले भने ‘यो सर्टिफिकेट पाउने भनेको विश्वविद्यालय अनुदान आयोगले ट्रस्ट गरेको भन्ने हो । त्यसलाई थप वृद्धि गर्न क्याम्पसले राम्रो प्रदर्शन गर्न आवश्यक छ ।’ उनले पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी पाउन समस्या हुन थालेको बताउँदै अहिलेको शिक्षा विश्वव्यापी मापदण्ड सँग मिल्ने हुनुपर्ने बताए । ‘अहिलेको उच्च शिक्षा निकै चुनौतीपूर्ण छ’ उनले भने ‘अहिलेको प्रविधिको विकासले विद्यार्थी शिक्षक भन्दा एडभान्स भएका छन् । त्यसका लागि नेपालको उच्च शिक्षालाई एउटा फ्रेममा अगाडि बढाउन आवश्यक छ ।’

पीआरटी टोलीका सदस्य राम जी गौतमले विद्यालयले प्रस्तुत गरेको प्रजेन्टेसनको टोलीले प्रत्यक्ष रूपमा अवलोकन गर्ने बताए । उनले क्याम्पसले क्युएए पाउँदा हुने फाइदा समाजले मूल्याङ्कन गर्ने कुरा भएकाले यसले सुशासन पारदर्शिता सुनिश्चित गर्ने बताए । उनले क्युएए पाउनु मात्रै ठुलो कुरा नभएको बताउँदै त्यसलाई निरन्तरता दिन थप चुनौतीपूर्ण भएको बताए । उनले क्युएए ८ वटा मापदण्ड पुरा गरेर पाउने भएकाले यो कसैको सद्भावले पाउने कुरा नभएको बताए ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐरले २०६३ सालमा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस निकै ठुलो मिहेनतबाट यो अवस्थामा पुगेको बताए । उनले पीआरटी टिमले भने अनुसारका मापदण्ड पुरा गरेर कागजपत्र बुझाएको बताउँदै अहिले भौतिक रूपमा अनुगमन गर्न आइदिएकोमा धन्यावाद ज्ञापन गरे । उनले यो स्तरमा क्याम्पसका पुगाउनको लागि निकै मिहेनत लागेको बताउँदै क्युएएको मापदण्ड पुग्नेमा विश्वास व्यक्त गरे ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा १ हजार २७७ विद्यार्थी अध्ययनरत रहेका छन् भने स्नातकोत्तर तहमा १५९ विद्यार्थी रहेका छन् । क्याम्पसमा हाल ३२ जना शिक्षक र १० जना अन्य कर्मचारी कार्यरत रहेका छन् । क्याम्पसमा शिक्षक सत्र २०८०/०८१ मा कुल ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ ।