अत्तरिया – कञ्चनपुरका किसान सुरेन्द्र चौधरीले १२ बिगाहामा केरा खेती गर्दै आएका छन् । उनले केरा सँगै बेर्ना पनि उत्पादन गर्दै आएका छन् । तर, केरा उत्पादन गर्न जति सहज छ त्यो भन्दा ठुलो चुनौती उनले केराको बजारीकरणका लागि भोग्दै आएका छन् ।
‘बजारीकरणको समस्या सजिलो हुँदा हुँदा पनि अप्ठ्यारो हुने गरेको छ’ आइतबार हेफर इन्टरनेशनल नेपाल कार्यक्रमको पुनरावलोकन सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठकमा बोल्दै उनले भने ‘अहिले हामीले बजारमा २० रुपैयाँ दर्जन केरा दिइरहेका छौ । तर, बजारमा किन्न जाँदा १ सय रुपैयाँ दर्जन छ । यसको नियन्त्रण किसानले गर्न सक्दैन ।’ उनले बिचौलिया मात्रै कमाउने बजारीकरण भएको बताए । उनले उत्पादन धेरै भएर बजार कम हुने अवस्था केरा प्रशोधन गरेर अन्य बस्तु बनाउनु पर्ने बताए । उनले केराको चिप्स, अल्कोहल लगायतका बस्तु बनाउन सकिने बताए । उनले कति उत्पादन आवश्यक हो, कति उत्पादनको कसरी बजारीकरण गर्ने भन्ने कुरामा राज्यले स्पष्ट हुनुपर्ने बताए ।

परामर्श बैठकमा बोल्दै अधिकांश वक्ताहरूले अहिलेको समयमा कृषि उत्पादन भन्दा पनि बजारीकरणमा चुनौती रहेको बताएका थिए । हेफर कार्यक्रमको पुनरावलोकन गर्दा कृषि उत्पादन भन्दा बजारीकरण, बस्तु उत्पादनमा जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरूको जोड थियो ।
कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीर्घ नारायण कोइरालाले किसानको सफलता नै सफल बजारीकरण भएको बताए ।
उनले नेपालका किसानले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था आउँदा पनि विदेशबाट आयात नरोकिँदा किसान मारमा परिरहेको बताए ।
‘भारतका विभिन्न नाकाहरूबाट भारतमा उत्पादन भएको कृषि बस्तु नेपालका पहाडी जिल्लामा पुगिसकेको हुन्छ’ उनले भने ‘हाम्रा किसानले दूध रोडमा फाल्नुपर्छ, फलफूल खोलामा फाल्नुपर्छ । तर, विदेशबाट आएको उत्पादन निर्बाध रूपमा उपभोग गरिरहेका छौ । यो त, बजारको व्यवस्थापन भएन ।’ उनले देशभित्र भएको उत्पादन सिजनमा मात्रै हुने भएकाले बाकी समय भारतबाटै आउने गरेको बताए । उनले भारतमा सब्सिटिका कारण कम मूल्यमा उत्पादन गरेर कम मूल्यमा नेपाल पठाउन सकेको हुन सक्ने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले अव कृषिको विकास गर्नका लागि उत्पादन मात्रै नभएर बजारीकरणमा जोड दिनुपर्ने बताए । उनले अहिलेको समयमा मार्केट क्रेट भएमा उत्पादन आफै बढ्ने बताए । उनले उत्पादनलाई बजारीकरण गर्न बस्तु उत्पादनमा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले अहिले बस्तुको उत्पादन सँगै लेबलीङमा जोड दिइरहेको बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव विमल प्रसाद बरालले संघसस्थाले काम गर्दा नेपाल सरकारले लिएको नीतिलाई ध्यान दिनुपर्ने बताए । उनले काम गर्दा धेरै क्षेत्रमा हात नहालेर एक विषय समेटेर कम गर्नुपर्ने बताए ।

उनले कृषि बस्तुलाई उत्पादन भएको क्षेत्रसँग जोडेर प्रवद्र्धन गर्दा सहज हुने बताए । ‘खाद्यान्न बाली, फलफूल, पशुलाई पनि ठाउँ सँग जोडेर बजारीकरण गर्दा सहज हुन्छ’ उनले भने ‘यसरी ब्राण्डिङ, प्याकेजिङ गर्दा यसले मूल्य पाउँछ । ब्राण्डिङ, प्याकेजिङ राम्रो गर्दा मात्रै ५ देखि ४० प्रतिशत सम्म मूल्य वृद्धि हुन्छ ।’ उनले उत्पादन बाहिर निर्यात गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य शेर बहादुर भण्डारीले गैरसरकारी संस्था सधैँ नरहने भएकाले यसले एक मोडेल मात्रै छोड्ने बताए । उनले प्रदेशका सबै जिल्लामा मोडेलका रूपमा यो कार्यक्रम सञ्चालन भएमा काम गर्न सहज हुने बताए । उनले कार्यक्रमको उपलब्धि पनि देखाउन सकेमा कार्यक्रम प्रभावकारी हुने बताए ।
उनले अहिले कृषि उत्पादन गर्न भन्दा पनि बजारीकरणमा समस्या भएको बताए । उनले हेफरले अब उत्पादन सँगै बजारीकरणमा काम गर्नुपर्ने बताए ।
कार्यक्रम विस्तार गर्न जोड
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले हेफरका कार्यक्रम हाल सुदूरपश्चिमका २ जिल्लाका ५ पालिकामा मात्रै सीमित भएकाले यसको क्षेत्र विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले प्रदेशका सबै जिल्लाका पालिकामा कार्यक्रम समेट्न सकेमा प्रदेशबाट पनि काम गर्न सहज हुने बताए ।
सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सबै काम सरकारले गर्न नसक्ने भएकाले यसका लागि विकास साझेदार संस्था आवश्यक पर्ने बताए । उनले त्यसका लागि सरकारले आफ्नो मुख्य योजना बनाएर त्यसको कार्यान्वयनका लागि ठोस योजना बनाउन आवश्यक रहेको बताए । उनले साझेदार संस्थाको कार्यक्रम सरकारको पोलिसीलाई छुने गरी काम गरिनुपर्ने बताए ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण बहादुर कुँवरले हेफरका कार्यक्रम सुदूरपश्चिमका न्यून क्षेत्रमा मात्रै कार्यान्वयनमा आएको बताउँदै यसलाई अझ विस्तार गर्नुपर्ने बताए । उनले यसलाई नौ जिल्लामा विस्तार गर्न सके प्रभावकारी हुने बताए । उनले कतिपय पालिकामा रैथाने बालीको बिउ हराइरहेकाले त्यसको संरक्षणमा पनि काम गर्नुपर्ने बताए ।
निड्स नेपालका सहमहानिर्देशक प्रकाश चन्द्र मण्डैले कृषिमा विभिन्न चुनौती थपिँदै गएकाले यसका लागि कार्यक्रमले जोड दिनुपर्ने बताए । उनले जलवायु परिवर्तनका कारण आउने चुनौती, रोग किराको जोखिम, किसानको सुरक्षा, कृषिको बिमा लगायतका चुनौती रहेको बताए ।
अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरीले कृषि सँगै प्रत्येक पालिकामा वन उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताइन् । उनले सामुदायिक वन भएका कारण छाडा चौपाया बढे भन्ने कुरा गलत भएको बताइन् ।
हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालकी निर्देशक सविना प्रधानले आगामी दिनमा दिगो पन हुने गरी साना किसानलाई समेट्ने गरी कार्यक्रम गर्ने बताइन । उनले हेफर सबै नरहने भएकाले स्थानीय सरकार सँग समन्वयन गरेर काम गर्ने बताइन् । उनले प्रदेश स्तरीय संवादले हेफरको नयाँ कार्यक्रम बनाउन सहज भएको बताइन । निड्स नेपालका विनोद सिंह कडाराले सञ्चालन गरेको कार्यक्रममा हेफरकी निर्देशक सविना प्रधान, अधिकृत प्रदीप शर्मा, कृषि विकास निर्देशनालय डोटीका निर्देशक टेकेन्द्र कुश्मी प्रस्तुतीकरण राखेका थिए ।


















