धनगढी– नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीमबहादुर रावलले आसन्न निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताएका छन । नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने जिकिर गरेका हुन ।

‘सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कैयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन’ उनले भने ‘अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधीनता, राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नुपर्ने बेला आएको छ ।’

डा. रावलले मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताए । त्यसबाहेक उनले नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेशमा जान तयार रहेको समेत बताए । उनले आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर स्थापित भएर राज्य सञ्चालन गर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीले यही मङ्सिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ । त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
















