अछाम– अछाममा पशुपंक्षीमा खोप लगाउनका लागि पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजनामा जिल्लामा शुक्रबारदेखी अभियान सुरु भएको हो ।
अभियान अन्तरगत पशुपंक्षीमा विभिन्न खोपहरु लगाईने केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी ज्ञान बहादुर थापाले जिल्लाका १० वटै पालिकामा अभियान सुरु भएको बताए । उनले अभियान अन्तरगत पशुपंक्षीहरुमा पि.पि.आर, खोरेत, एच.एस.एण्ड वि.क्यू, रानिखेत, बङ्गुरको हैजा तथा अन्य रोग विरुद्धका खोपहरु लगाईने बताए । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभियान सुरु गरिएको थापाले जानकारी दिए । खोप लगाउने जनशक्ति भ्याक्सिनेटर यसअघि नै नियुक्त गरिसकिएको छ । किसानहरुले पालेको गाईवस्तुहरुलाई निरोगी राख्न खोप अभियान सुरु गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।


शुक्रबार पालिका स्तरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजनागरि खोप अभियानको शुभारम्भ गरिएको बताइएको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले अछाम जिल्लाका किसान खुसी भएका छन् । उक्त अभियानबाट पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने विज्ञहरुले बताएका छन् ।
जिल्लाका १० वटै पालिकामा रहेका ९१ वटै वडामा यो अभियान सञ्चालन हुने बताईएको छ । जिल्लाभरि रहेका सबै किसानका घरमा पुगेर खोप लगाउने कार्यक्रम तय भएको पशुसेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख बाल्मीकी जोशीले जानकारी दिए ।
किसानहरु खुसी
भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्रले अभियान नै सञ्चालन गरेर खोप लगाउन थालेपछि किसानहरु खुसी भएका छन । आफ्नै गाउँघरमा आएर पशु प्राविधिकहरूले खोप लगाउन थालेपछि किसानहरुले आयोजकप्रति आभार प्रकट गरेका छन् । किसानहरु खोप लगाउने स्थानमा नै आफूले पालेका गाई वस्तुहरू लिएर आई खोप लगाउन थालेका छन् । शुल्क तिरेर पनि टाढा गएर खोप लगाउनुपर्ने बाध्यताका बिच केन्द्रले अभियान नै सञ्चालन गरेर गाउँघरमै निःशूल्क रुपमा खोप लगाउन थालेपछि उनिहरु हर्षित भएका हुन ।


















