खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशसभा मंसिरभित्रै सञ्चालन गर्ने तयारी

Image

धनगढी – जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त सुदूरपश्चिम प्रदेशसभा सचिवालय सञ्चालनको तयारी गरिएको छ । प्रदेश सभा सञ्चालनका लागि रङरोगनदेखि सामान्य मर्मतसम्मका काम सकिएको छ। तर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको बैठक हल पुनर्निर्माणका लागि विभिन्न संघ–संस्थाको सहकार्यमा प्रक्रिया अघि बढाइरहेको बताइएको छ। करिब १ करोड रुपैयाँ लागतमा पुनर्निर्माणको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

navjiwan hospital

सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार युएनडिपी र युएनएफपिएले बैठक हलमा आवश्यक पर्ने माइक, टिभी, क्यामेरा लगायतका उपकरणको लागि ४३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। यस्तै, फलसिलिङका लागि सहरी विकासले १० लाख बराबरको लागत इस्टिमेट गरेको छ। बाँकी संरचना मर्मत तथा पुनर्निर्माणका लागि सचिवालयले फर्निचर बाहेक ५१ लाख रुपैयाँको इस्टिमेट निकालेको छ। “बिद्यमान खरिद ऐन प्रक्रियाले केही समय लाग्न सक्छ,” जैशीले भने, “यदि सरकारले कानुनी अवरोध हटाइदियो भने काम छिटो सुरु गर्न सकिन्छ, नभए अलि ढिलाइ हुन सक्छ।”

attariya hospital

प्रदेशसभा बैठक सञ्चालनका लागि उपयुक्त वैकल्पिक हल नहुँदा तीन महिनादेखि नियमित बैठक बस्न नसकेको सचिवालयको भनाइ छ। यसबीचमा प्रदेशसभा सदस्यहरू बैठक अवरुद्ध हुँदा प्रदेशको नीति निर्माण र निर्णय प्रक्रियामा गम्भीर असर परेको बताउँछन्। सभामुख भिम बहादुर भण्डारीले मंसिरभित्रै पुनर्निर्माण काम पूरा गरी बैठक बोलाउने लक्ष्य राखिएको जानकारी दिए। “विभिन्न संघ–संस्थाको सहकार्यमा तथा हाम्रो तर्फबाट लागत इस्टिमेट मिलाएर हल पुनर्निर्माणको काम अघि बढिरहेको छ,” सभामुख भण्डारीले भने, “अबको १५–२० दिनभित्र काम सम्पन्न हुने अपेक्षा छ, सकेसम्म मंसिरभित्रै प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारीमा छौँ।”

प्रदेश सरकार र सचिवालयले पछिल्लो समय पुनर्निर्माणका कामलाई तीव्रता दिँदै आवश्यक प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया अगाडि बढाएका छन्। यदि सबै काम समयमै पूरा भए प्रदेशसभा मंसिरभित्रै पुनः सञ्चालनमा आउने सम्भावना सजिलो देखिएको छ।