डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र अब वैचारिक बहस सुरु गर्ने बेला आएको बताएका छन । सोमबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई चलायमान र सुदृढ बनाउन महासमिती सदस्यहरूबीच वैचारिक बहस र छलफल आवश्यक रहेको बताए । उनले अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनको बखेडा उठाउनेभन्दा आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहले भने ‘सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, तर यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पु¥याउँदैन ।’


उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा राणालाई लक्षित गर्दै गरिएको विरोधबारे टिप्पणी गर्दै भने ‘शेरबहादुर देउवा र आरजुलाई सिध्याउँछु भन्नु दिवा सपना हो । पञ्चहरूले पञ्चायतकालमा सिध्याउन सकेनन्, माओवादीले गोली प्रहार गरेर पनि सकेनन्, र जेनजी आन्दोलनका क्रममा उहाँ माथी सांघातिक आक्रमणभयो त्यसबाट पनि उहाँ कतै विचलित हुनु भएन ।’
सोमबार नै मुख्यमन्त्री शाहले बैतडीको पाटन नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गरेका थिए । भेटमा पाटन नगरपालिकाको विकास, करार कर्मचारी व्यवस्था, र स्थानीय सेवा सञ्चालन ऐनका विषयमा विस्तृत छलफल भएको थियो ।
त्यसपछि उनले पाटन नगरपालिका–९, सिद्धेश्वर हुक्केडाँडामा अवस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय र विद्यालयले सञ्चालन गरेको छात्रावासको निरीक्षण गरेका थिए । वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत छन् ।


















