खाेज्नुहाेस

संयुक्त रुपमा दमकल किन्ने तयारी थाल्दै अछामका चार स्थानीय तह

Image

अछाम– अछामका ४ वटा स्थानिय तहहरुले दमकल खरिद गर्ने तयारी थालेका छन् । जिल्लाका साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी–जयगढ गाउँपालिकाले आपसी सहकार्यमा दमकल खरिद गर्ने तयारी थालेका हुन ।

जिल्लामा लगातार भइरहेका भीषण आगलागीका घटनाबाट ठुलो धनजनको क्षति हुन थालेपछि ४ वटा स्थानिय तहहरुले दमकल खरिद गर्नका लागि संयुक्त पहल गर्न थालेका छन् । पछिल्लो समय बान्नीगढ–जयगढ गाउँपालिकाको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएका विनाशकारी आगलागीका घटनापछि दमकलको अभाव खड्किएको थियो । यी घटनाहरूमा करोडौंको क्षति भएको र समयमै आगो नियन्त्रण गर्न नसक्दा बजार नै खण्डहरमा परिणत भएको थियो ।

add everest academy
attariya hospital
navjiwan hospital

जिल्लामा एक मात्र दमकल सदरमुकाम मंगलसेन नगरपालिकासँग रहेको र त्यो पनि भौगोलिक विकटताका कारण समयमै घटनास्थलमा पुग्न नसक्ने समस्या छ । यिनै समस्यालाई मध्यनजर गर्दै चार पालिकाका प्रमुखहरूको बैठकले संयुक्त रूपमा दमकल खरिद गर्ने निर्णय गरेको हो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार, हालै बसेको संयुक्त बैठकमा दमकल खरिदको आवश्यकता र सहकार्यबारे गम्भीर छलफल भएको थियो । सोही बैठकमा चारवटै पालिका दमकल खरिद गर्न तयार भएका हुन् । दमकल खरिदका लागि साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाले २०–२० लाख रुपैयाँ बजेट छुट्टाइसकेका छन् ।

यस्तै, मेल्लेख गाउँपालिका र बान्नीगढी–जयगढ गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेर खरिद प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । विगतमा साँफेबगर र जयगढमा आगलागी हुँदा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको पानी बाल्टीले घण्टौंको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएका थिए ।

attariya technical collage