धनगढी – नेकपा एमालेका सचिव लेखराज भट्टले कम्युनिष्ट हुन श्रम र उत्पादनसँग जोडिन अनिवार्य हुने बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको ‘चौतारी खुल्ला संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हामी कम्युनिष्ट हौँ भन्छौँ । हामी कम्युनिष्ट हौँ कि होइनौँ भन्ने कुरा श्रमसँग जोडिएको छ कि छैन भन्ने कुराले निक्र्यौैल गर्छ ।’ उनले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि श्रम र उत्पादनसँग जोडिन आवश्यक रहेको बताए । त्यस्तै, उनले सुदूरपश्चिमको विकासका लागि शिक्षामा जोड दिने र भिजनसहितको विकासको खाका खोज्नुपर्ने बताए ।


उनले भने ‘हामी राजनीतिमा लागेका मात्रै सबै कुरामा पूर्ण छैनौँ । विभिन्न क्षेत्रका विज्ञहरुलाई एकै ठाउँमा ल्याएर श्रम र उत्पादनसँग सबैलाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा जोड दिनुपर्छ ।’ उनले भने ‘सुदूरपश्चिमका समस्या के हुन ? यहाँका जनताको मनोविज्ञान केहो ? यसलाई समाजसास्त्रीय रुपमा हामीले बझ्न सक्छौँ । हाम्रो आवश्यकता केहो त्यसलाई हामीले बुझ्न जरुरी हुन्छ । र राज्यले यहाँको विकासमा ध्यान दिन पनि जरुरी छ ।’
त्यस्तै, उनले अहिलेको अवस्थामा आगामी फागुन २१ गते निर्वाचन हुन नसक्ने बताए । उनले भने ‘अहिलेको सरकारले अहिलेसम्म निर्वाचन आयुक्त नियुक्त गर्न सकेको छैन । आयोगले निर्वाचन आयुक्तबिना कसरी निर्वाचन योजना बनाउन सक्छ ?’ उनले भने ‘सुदन गरुङबाट अहिलेको सरकार चल्छ । उनी को हुन् ? यसबाटै थाहा हुन्छ यो सरकार कस्तो हो भनेर ।’
















