धनगढी – सुदूरपश्चिम रोयल्सले आधिकारिक पोसाक पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्लीराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ । सुदूरपश्चिमका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोसाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।


‘डीआरजे पछिल्लो समय लोकप्रिय नेपाली कपडा ब्रान्ड हो । खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरीय खेल पोसाक चाहिन्छ,’ सीइओ खड्काले भने, ‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौं । यसले सुदूरपश्चिमको पोसाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ ।’ डीआरजेका दिल्लीराज जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको पक्ष भएको बताए ।

















