अत्तरिया – समाज परिवर्तनमा जीवन समर्पण गरेकी कैलालीको गोदावरी नगरपालिका – ११ की स्वर्गीय चम्फा देवी विकको दोस्रो वार्षिकी स्मृतिको अवसरमा महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरिएको छ ।
सोमबार चम्फाका श्रीमान्, छोरा लगायत परिवारका सदस्य र आफन्तले अत्तरियामा रहको सेभ हाउसमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी खाद्यान्न र फलफूल सहयोग गरेका हुन । जसअन्तर्गत सेभ हाउसमा आश्रित महिला तथा बालबालिकालाई फलफूल वितरण गरिनुको साथै सेभ हाउसलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सहयोग गरिएको थियो । सो अवसरमा स्वर्गीय चम्फा देवीको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिइएको थियो भने एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका – ११ का पूर्व वडाध्यक्ष शिव विकले स्वर्गीय चम्फा देवी क्रान्तिकारी महिला भएको बताए । उनले स्वर्गीय चम्फा देवी ५० वर्ष पहिले नै महिलामाथि हुने विभेदको विरुद्ध आवाज उठाउने साहासिक महिला भएको बताए । उनले छाउपडी प्रथा, जातीय छुवाछुत जस्ता विभेदका विरुद्ध आवाज उठाउने गरेको बताउँदै सो समयमा धेरै परिवर्तन पनि ल्याएको बताए ।


गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले स्वर्गीय चम्फा देवी क्रान्तिकारी भएकाले उनको वार्षिकी स्मृतिमा पनि परम्परागत रूढिवादी परम्परा तोडेर सेभ हाउसलाई सहयोग गरिनु पुण्यको काम भएको बताए ।
उनले समाजमा छाउपडी प्रथा अन्त्यका लागि स्वर्गीय चम्फा देवीको महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘वहाँ परिवारको मात्रै आमा नभएर सामाजिकै आमा हुनुहुन्थ्यो’ उनले भने ‘अहिले हामीले वहाँकै शिक्षा लिएर समाजमा भएका विकृति, विसङ्गति विरुद्ध बोल्ने चेत पाएका छौ ।’
स्वर्गीय चम्फा देवीका छोरा कृष्ण विकले आमाको चाहना अनुसार नै आफूले समाजका लागि काम गर्नुपर्ने दायित्व बोध गरेर वार्षिकी स्मृतिमा सेभ हाउसलाई सहयोग गरेको बताए । उनले आमाको नै मृत्यु पछि काज क्रिया भन्दा पनि असहाय, पछाडि परेको समुदायलाई सहयोग गर्नुपर्छ भन्ने चाहना रहेको हुँदा सोही अनुसार वार्षिकी स्मृतिमा विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । उनले आमा भौतिक रूपमा आफू सँग नभए पनि वहाँको विचारलाई जीवित राख्ने गरी काम गर्ने प्रण गरे ।
महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले स्वर्गीय चम्फा देवी कान्तिकारी महिला भएको बताउँदै दशकौँ पहिले नै गाउँमा छाउपडी प्रथा अन्त्य गर्नका लागि खटिएको स्मरण गरिन । उनले यस्ता पुण्य दिनको अवसरमा सेभ हाउसलाई सम्झिएर सहयोग गरेकोमा आभार व्यक्ति गरिन ।


















