धनगढी – कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सात विघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीनजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनी सहित तीनजना बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगील बताए।

उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नमबर १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं तथा जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए।

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो। तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

















