बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाले अस्थायी कर्मचारीहरु हटाउने भएको छ । नगरपालिकाले पालिका र वडाहरुमा कार्यरत अस्थायी कर्मचारीहरु हटाउने भएको हो ।

बिहीबार बसेको ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत झन्डै ८० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ६ का अध्यक्ष हेमराज जैशीले कार्यपालिका बैठकले अस्थायी कर्मचारी हटाउने निर्णय गरेको बताए ।


उनका अनुसार पालिकाले सङ्घीय सरकार र प्रदेश सरकारको पत्रअनुरूप पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेनजी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।
बुढीगङ्गा नगरपालिकामा हाल ८० जना कर्मचारीलाई विकासीय बजेटबाट तलब प्रदान गरिँदैआएको थियो । पालिकाका १० वटै वडाका गरी ती कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने आँकलन गरिएको छ । यद्यपि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।