जनकपुर – प्रदेशसभामा सहभागी दलहरूको अवरोध र तनावबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् । कांग्रेस र एमालेले प्रदेश प्रमुखविरुद्ध नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर लोसपाका प्रदेश सांसद सोनललाई बुधबार अबेर मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । पाँच दलको प्रस्तावमा सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । उनलाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८) र एकीकृत समाजवादी (७) ले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री सोनलले बिहीबारबाट जिम्मेवारी सम्हाल्नेछन् ।


सोनलको नियुक्तिमा एमाले र कांग्रेसले आपत्ति जनाएका छन् । एमाले संसदीय दल नेता सरोज यादव र कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवसहितका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर जनमत पार्टी विभाजन भइसकेकाले सोनलको दाबीलाई मान्यता नदिन अनुरोध गरेका थिए ।