खाेज्नुहाेस

पानीको सहारामा एक सातादेखि शुक्लाफाँटा निकुञ्ज पीडित सडकमा, सरकारले देखेन

Image

अत्तरिया – जयबहादुर रोकाया र रणबहादुर सिंहलाई पानी मात्रै खाएर आमरण अनसन बसेको एक साता पुगेको छ । साउन २२ गते देखि कञ्चनपुरको महेन्द्रनगर बजारको मदन चोकमा उनीहरू पानी मात्रै खाएर आमरण अनसनमा बसेका छन् । तर, आमरण अनसन बसेको एक साता बितिसक्दा पनि अहिले सम्म कुनै पनि राज्यको निकायका प्रतिनिधि उनीहरूको माग सुन्न अनसन स्थलमा पुगेका छैनन् ।

‘हामीले कसै नेतालाई फोन पनि गरेका छैनौ । न कुनै नेताहरूको पनि अहिले सम्म फोन गरेका छन्’ आरक्ष पीडित सङ्घर्ष समिति कञ्चनपुरका अध्यक्ष जयबहादुर रोकायाले भने ‘साउन २१ गते सिडिओलाई ज्ञापन पत्र बुझाएका थियौ । त्यसको भोलिपल्ट देखि यहाँ अनसन बसेका हौ । अहिले सम्म पानी बाहेक केही पनि खाएका छैनौ ।’

attariya hospital

उनले यसअघि १९ दिनसम्म काठमाण्डौंको माइतीघरमा अनसन गर्दा सरकारलाई दिएको अल्टिमेटम भित्र माग सुनुवाइ नभएपछि आमरण अनसन गर्न बाध्य भएको बताए । उनले आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार सिडिओ कार्यालयबाट नारा जुलुस सहित बजार परिक्रमा गरेर आमरण अनसन बसेको ठाउँमा कोष सभा आयोजना गर्ने कार्यक्रम रहेको बताए । त्यति गर्दा पनि माग सम्बोधन नभए पूर्व पश्चिम राजमार्ग अन्तरगत दैजीमा बिच सडकमा खटिया लगाएर बस्ने कार्यक्रम रहेको बताए । उनले शान्तिपूर्ण तरिकाले माग पुरा गराउने प्रयासमा आफूहरू रहेको बताए ।

navjiwan hospital

‘हामी शान्तिपूर्ण तरिकाले हामी माग पुरा गराउने प्रयासमा रहेका छौ’ उनले भने ‘जबसम्म हाम्रो माग पुरा हुँदैन तब सम्म आमरण अनसन जारी रहन्छ ।’  २०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाटा निकुञ्ज) विस्तार गर्दा विस्थापित भएर पछिल्लो २४ वर्षदेखि आरक्ष पीडित बनेका उनीहरूले पटक पटक पुरस्थापना र क्षतिपुतीको माग गर्दै आएका छन् ।

आरक्ष पीडित सङ्घर्ष समिति अध्यक्ष रोकायाले अधिकार सम्पन्न आयोग गठन गरेर आफ्ना माग सुनुवाइ गरिनुपर्ने बताए । उनले भने ‘हामीहरूलाई द्वन्द्व पीडित घोषणा गरिनु प-यो । शक्तिशाली अधिकार सम्पन्न आयोग गठन गरेर खोसेको सम्पत्ति फिर्ता, जलाएको सम्पत्तिको भरपाई, नघटाई १० कट्ठा जमिन उपलब्ध गराएर क्षतिपूर्ति सहित बालबालिकालाई निःशुल्क शिक्षा दिने सुनिश्चितता हुनुप¥यो ।’

उनले राज्यले आफूहरूको नाममा पटक पटक आयोग मात्रै गठन गरेर झन् होच्याउने काम गरेको बताए । उनले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तार गर्दा विस्थापित भएका २ हजार ४७३ परिवारलाई पुनस्र्थापना गरिनुपर्ने बताए । अहिले आरक्षबाट विस्थापित भएकाहरू कञ्चनपुरका विभिन्न १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै ढक्का शिविरमा ६ सय बढी परिवार बसोबास गरिरहेका छन् । यसबाहेक तारापुर र लल्लरे डाँडामा पनि विस्थापित बसिरहेका छन् ।

बाणी दैजी लगायतका स्थानमा विस्थापित बसोबास गरिरहेका छन् । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको पूर्वी क्षेत्रमा १५५ वर्ग किलोमिटर जमिन अधिग्रहण गरेर विस्तार गरिएको गर्दा उनीहरू विस्थापित भएका थिए । विस्थापितहरूलाई पुरस्थापना गर्ने भन्दै ३४ वटा आयोग बने पनि अहिले सम्म पुरस्थापना हुन सकेको छैन । सरकारले बनाएका आयोगले आरक्षबाट विस्थापित भएकाहरूको सङ्ख्या र उनीहरूले पाउनुपर्ने क्षतिपूर्तिको फरक फरक विवरण तयार पारेर समस्या गिजोल्ने बाहेक कुनै काम हुन सकेको छैन ।