अत्तरिया – प्रशासनको चरम लापरबाहीले कैलाली कारागार रक्ताम्मे हुने गरी भयावह घटना भएको भन्दै चर्को आलोचना भएको छ । कारागार भित्र हातहतियार सहित भएको घटना पछि सुरक्षा निकायमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।
शुक्रवार मध्यरात कैलाली कारागार रक्ताम्मे हुने गरी दुई गुन्डा समूहबिचको साङ्घातिक झडप हुँदा एक जनाको मृत्यु छ भने ४९ जना घाइते भएका छन् । राति सुतिरहेका बेला ब्लक ‘ए’ का कैदिबन्दीले ब्लक ‘बी’ का कैदिबन्दी माथि अन्धाधुन्ध साङ्घातिक हमला गरेका थिए । झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । घाइते मध्ये गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौँ लगिएको छ । उनलाई नेपाली सेनाको स्काई ट्रक मार्फत भट्टलाई थप उपचारका लागि शनिवार साँझ काठमाडौँ गरिएको हो ।


कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिएको भन्दै अहिले चौतर्फी सुरक्षा निकाय माथि प्रश्न उठिरहेको छ । बिहीबार नै कैदीहरू बिच एक चरण झडप भएर पाँच जना घाइते हुँदा पनि बेवास्ता गर्दा शुक्रवार ठुलो घटना भएको देखिन्छ । कैदीबिच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन् । मृतकका आफन्तले नै कारागारभित्र सम्भावित अर्को घटना हुने आशङ्का सहितको सूचना पहिले नै दिएको बताएका छन् । तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता नअपनाउँदा ठुलो क्षति हुन पुगेको छ ।
कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह पछिल्लो समय गुण्डागर्दीमा संलग्न रहेका प्रहरी अधिकारीहरू बताउँछन् । यिनै समूहको झगडाको सिलसिलासँग कारागारको घटना भएको बताइएको छ ।
पछिल्लो पटक असारमा सिडिओ गोगनबहादुर हमाल कारागार निरीक्षणमा जाँदा ब्लक ‘ए’ मा मोबाइल फेला परेको थियो । त्यसपछि त्यहाँबाट सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएका थिए । त्यहीबाट सुरु भएको थप मनमुटाबले असार २८ गते पनि हिंसात्मक अवस्था सिर्जना गरेको थियो । जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । त्यहाँबाट सुरु भएको हिंसाको सिलसिलाले कारागारमा तनाव बढ्दा जिल्ला प्रशासन कार्यालयले कैदी बन्दीलाई अन्य कारागार सरुवासम्म पुगेको थियो ।

शुक्रवार पनि ‘ए’ ब्लकमा बस्ने ‘नन्दु सरकार’ समूहले भित्ता फोडेर ‘बी’ ब्लकमा सुतिरहेका कैदीमाथि अन्धाधुन्ध साङ्घातिक हमला गरेका थिए । उनीहरूले आक्रमण गर्दा खुकुरी, चक्कु, रड र जिममा सामग्री प्रयोग गरेको बताइएको छ । शुक्रवार रातिको घटनापछि दुवै ब्लक भित्र सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाएको जेलर रामप्रसाद चौधरीले बताए ।
गम्भीर लापरबाही

यसबिच मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रवार राति भएको घटनामा गम्भीर लापरबाही भएको औँल्याएको छ । मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिवार दिउँसो कारागारको निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख बिदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरबाही, क्षमता भन्दा बढी कैदी बन्दी र कैदी बन्दीको स्थानान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए । भट्टले कारागारभित्रका अन्य कैदी बन्दीको अवस्था भने सामान्य रहेको बताए । उनले स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेट्ने वातावरण बनाउन समेत निर्देशन दिइएको बताए ।
छानबिन समिति गठन
यसबिच जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला कारागार कैलालीमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले घटनाको पुनरावृत्ति रोकथाममा लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘यस प्रकारका घटनाको पुनरावृत्ति रोकथाममा लागि तथा कारागारमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम रहिरहोस् भनी, कारागारमा विद्यमान सुरक्षा चुनौतीहरूको समग्र समीक्षा र मूल्याङ्कन गरी जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र कारागार विभागबिच आवश्यक समन्वय, सहयोग र थप प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ । यस सम्बन्धमा जिल्ला सुरक्षा समिति कैलाली पनि पूर्ण सतर्कता र प्रतिबद्धताका साथ सम्बद्ध निकायहरूलाई आवश्यक निर्देशन तथा सहयोग गरिरहेको छ ।’
विज्ञप्तिमा उक्त घटनाले कारागार भित्र शान्ति सुरक्षामा चुनौती देखिएकाले घटनाको यथार्थ र आवश्यक छानबिन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ ।
गृहमन्त्रीले गरे छलफल
यसैबिच कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शनिवार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरेका हुन् ।
छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सूक्ष्म रूपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए । ‘कैलालीको कारागारमा भएको घटनाका सन्दर्भमा गृहमन्त्रीज्यूको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिव ज्यु सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सूक्ष्म रूपले हेरेको अवस्था छ,’ काफ्ले भने । कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

















