खाेज्नुहाेस

छाडा चौपाया व्यवस्थापन गरेर आत्मनिर्भर उन्मुख धनगढीका गौशाला

Image

धनगढी – सडकमा छाडिएका गाईगोरुको व्यवस्थापन स्थानीय तहका लागि आर्थिक भार र चुनौती बनिरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाका गौशालाले आफ्नै आम्दानीबाट सञ्चालन खर्च जुटाउने प्रयास थालेका छन् । छाडा चौपायाको संरक्षणसँगै दूध बिक्रीबाट आम्दानी गर्न थालेका गौशालाले अब गोबरबाट जैविक मल उत्पादन तथा बिक्रीलाई समेत आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेका छन् ।

दूध दिन छाडेपछि गाईगोरु सडकमा छाड्ने प्रवृत्तिका कारण सार्वजनिक सडक, बजार क्षेत्र र राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै आएको छ । यस्तो अवस्थामा छाडा चौपाया व्यवस्थापनको जिम्मेवारी लिएका गौशालालाई दाताको सहयोग र स्थानीय सरकारको बजेटमा मात्रै निर्भर नराखी आम्दानीको स्रोतसँग जोड्ने प्रयास गरिएको हो ।

attariya hospital

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौ संरक्षण सेवा समितिले दूध बिक्रीबाट मासिक ८० देखि ९० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । २०७५ सालमा एउटा बिरामी गाईको उद्धारबाट सुरु भएको गौशालामा अहिले करिब १५० गाई छन् । समुदायको अगुवाइमा स्थापना भएको गौशालाले विभिन्न दाता, सामुदायिक वन र स्थानीय सरकारको सहयोगमा आफ्नो क्षमता विस्तार गर्दै आएको छ ।

समितिकी महासचिव रीता जोशीका अनुसार दूध बिक्रीबाट प्राप्त हुने रकमले गाईको आहारा, उपचार र अन्य व्यवस्थापन खर्च जुटाउन सहयोग पुगेको छ । गौशालालाई सामुदायिक वनले जग्गा उपलब्ध गराउन सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्रले दुईवटा भवन निर्माण गरिदिएको छ । धनगढी उपमहानगरपालिकाले आवश्यकताअनुसार पराल र उपचारमा सहयोग गर्दै आएको छ । नगर प्रमुख गोपाल हमालले पनि आफ्नो पारिश्रमिकबापतको रकम गौशालालाई उपलब्ध गराउँदै आएका छन् ।

जोशीका अनुसार गौशालामा दानका लागि गाई लैजानेहरू आउने गरेका छन् भने घरमा पाल्न नसकेका गाई ल्याएर छाड्ने क्रम पनि छ । यसले गौशालामा गाईको संख्या बढाउनुका साथै व्यवस्थापन खर्चसमेत बढाएको छ । गाईको व्यवस्थापन गर्न निश्चित शुल्कको व्यवस्था गरिएको उनले बताइन् । दूध तथा मलमूत्रबाट हुने आम्दानीले गौशालाको आर्थिक भार केही कम भएको उनको भनाइ छ ।

navjiwan hospital

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित फूलबारीस्थित हाम्रो गौशालाले पनि दूध बिक्रीबाट आम्दानी गर्न थालेको छ । सार्वजनिक चौपायाको व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त गौशालामा अहिले करिब साढे तीन सय गाई छन् । गौशालाले दूध बिक्रीबाट मासिक १५ देखि २० हजार रुपैयाँबराबरको आम्दानी गरिरहेको छ ।

हाम्रो गौशालाका अध्यक्ष यादव भण्डारीका अनुसार गौशालामा रहेका सबै गाईले दूध नदिने भएकाले आम्दानी अपेक्षाकृत कम छ । बजार तथा सडकमा छाडिएका गाईको उद्धार गरी व्यवस्थापन गर्दै आएको गौशालाले आगामी दिनमा दूध उत्पादन र बिक्री बढाएर आम्दानी वृद्धि गर्ने लक्ष्य राखेको छ । गाईको संख्या धेरै हुँदा नियमित आहारा जुटाउनु गौशालाका लागि मुख्य चुनौती बनेको छ । ठूलो संख्यामा रहेका गाईलाई पराल, घाँस र अन्य आहारा आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा स्थानीय सरकारको सहयोग महत्वपूर्ण रहेको भण्डारीले बताए । उपमहानगरपालिकाले पराल ढुवानीका लागि ट्र्याक्टर उपलब्ध गराएपछि व्यवस्थापन सहज भएको छ । ट्र्याक्टरको प्रयोगबाट ढुवानीमा सहयोग पुग्नुका साथै त्यसबाट हुने आम्दानीले समेत गौशालालाई राहत मिलेको उनको भनाइ छ ।

४ गौशालामा एक हजार गाई

धनगढी उपमहानगरपालिकामा एउटा सामुदायिक र तीनवटा उपमहानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गरी चारवटा गौशाला छन् । यी गौशालामा करिब एक हजार गाई व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाले गाईको स्वास्थ्य परीक्षण, उपचार तथा आहारा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
गौशालामा रहेका गाईको उत्पादन क्षमता बढाएर आम्दानी वृद्धि गर्ने उद्देश्यले कृत्रिम गर्भाधान कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको उपमहानगरपालिकाका पशु चिकित्सक डा. समिर ठाकुरले बताए । उनका अनुसार गाईको उत्पादन क्षमता बढाउन सके दूध बिक्रीबाट हुने आम्दानी वृद्धि भई गौशालालाई आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।

गौशालामा गाईको गोबर तथा मलमूत्रबाट जैविक मल उत्पादन र बिक्री गर्ने सम्भावना पनि छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके कृषि क्षेत्रमा उपयोग हुने जैविक मलको आपूर्तिसँगै गौशालाका लागि थप आम्दानीको स्रोत सिर्जना हुन सक्छ ।

तर, दूध उत्पादन सबै गाईबाट सम्भव नहुने, आहारा र उपचारमा नियमित खर्च लाग्ने तथा गाईको संख्या बढिरहने अवस्थाले गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउन चुनौती छ । त्यसका लागि उत्पादनशील गाईको व्यवस्थापन, दूधको बजार विस्तार, जैविक मलको व्यावसायिक उत्पादन र दीर्घकालीन आर्थिक योजनामा ध्यान दिनुपर्ने देखिन्छ ।