कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ८१.३९ प्रतिशत राजश्व संकलन गरेको छ । सो आर्थिक वर्षमा ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले ८१.३९ प्रतिशत अर्थात २ अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको हो ।

लक्ष्य भन्दा कम राजश्व संकलन भएको भएपनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा बढी राजश्व संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ७.४४ प्रतिशतले राजश्व वृद्धि भएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष कार्यालयले ३ अर्ब ८ करोड ४१ लाख ४० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख ८ हजार, व्यक्तिगत आयकरबाट १ अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट १ अर्ब ११ करोड ४ लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए ।


















