अत्तरिया – सुगम जिल्ला कैलालीको सुगम पालिका गोदावरीमै नियमित रूपमा विद्युत् मिटर रिडिङ नहुने गरेको पाइएको छ । हरेक महिना सेवाग्राहीहरूको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान भए पनि गोदावरीको नाचनथैलीमा भने एक वर्ष सम्म पनि रिडिङ नभएको पाइएको हो । गोदावरी नगरपालिका – ४ मा रहेको नाचनथैलीमा मिटर रिडिङ नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।


स्थानीय शर्मिला देवी खत्रीले एक वर्ष देखि मिटर रिडिङ नहुँदा आफैले मिटरको नम्बर लिएर अत्तरिया नो लाइट कार्यालयमा आएर विद्युत् महसुल तिर्ने गरेको बताइन् । उनले भनिन् ‘मिटर रिडिङ गर्ने मान्छे नै हामीले देखेका छैनौ । एक वर्ष देखि हाम्रो ठाउँमा मिटर रिडिङ गर्न गएका छैनन्’ शुक्रवार अत्तरिया नो लाई कार्यालयमा भेटिएकी उनले भनिन ‘पहिला महरा सर हुँदा जान्थे अहिले को छन् थाहा नै छैन ।’ ३ वर्ष देखि नेपाल विद्युत् प्राधिकरणकी ग्राहक बनेकी खत्रीले आफ्नो घर बुढीतोला बजार देखि १५ मिनेट मात्रै टाढा रहेको बताइन् ।

उनले मिटर रिडिङ नहुँदा आफै मिटरमा भएको नम्बर ल्याएर अत्तरियामा रहेको नो लाइट कार्यालयमा बुझाउने गरे पनि कहिलेकाहीँ त्रुटि हुने गरेको बताइन् । उनले कार्यालयमा आएका बेला मिटर रिडिङ गर्न पठाइदेउ भन्दा सुनुवाइ नै नहुने गरेको बताइन् । शुक्रवार पनि अत्तरिया नो लाइट कार्यालयमा मिटर रिडिङ गर्न नआएको गुनासो राख्न खोजेकी उनले कार्यालयमा हाकिम नभेटेपछि फर्किएकी थिइन ।

नाचनथैलीकै मुक्ति बुढा अधिकारीले मिटर रिडिङ नहुँदा अनलाइनबाट पनि तिर्न नमिलेको बताइन् । उनले विद्युत् महसुल तिर्न आउन मात्रै डेढ सय भाडा लाग्ने भएकाले तीन महिनामा मात्रै एक पटक विद्युत् महसुल तिर्न आउने गरेको बताइन् । उनले आफूहरूले नै मिटर रिडिङ गरेर नम्बर ल्याउँदा कुनै बेला धेरै महसुल पनि आउने गरेको बताइन् । ‘यसअघि एक वर्षमा रिडिङ गर्न जाँदा एकै महिनामा २० हजार महसुल आएको थियो’ उनले भनिन् ‘हामीले महसुल तिर्न आउँदा सधैँ नम्बर ल्याउने गरेका हुन्छौ तर, किन यस्तो भयो थाहा पाइएन ।’
उनले मिटर रिडिङ भएमा अनलाइनबाट महसुल तिर्न सजिलो हुने भए पनि मिटर रिडिङ नहुँदा आफैले विद्युत् कार्यालयमा आएर मिटरको अङ्क चढाएपछि मात्रै महसुल तिर्न पाइने गरेको बताइन् । बुढीतोला बजार क्षेत्रमा मिटर रिडिङ भए पनि बजार देखि थोरै मात्र भित्र रहेको आफूहरूको घरमा मिटर रिडिङ गर्ने कर्मचारी नपुग्ने गरेको बताइन् । मिटर रिडिङ नुहुँदा विद्युत्को महसुल भन्दा बढी आवतजावत गर्न यातायात खर्च लाग्ने बताइन् ।
अत्तरिया नो लाइटका प्रमुख सुनिल खड्काले विद्युत् मिटर रिडिङ नभएको गुनासो नआएको बताए । उनले कार्यालयमा विद्युत् मिटर रिडिङ गर्न पर्याप्त कर्मचारी भएको बताए । उनले गोदावरी माथिको पहाडी क्षेत्रमा विद्युत् रिडिङ गर्न पहिले एक जना मात्रै भए पनि अहिले थपेर २ पु¥याइएको बताए ।
‘गोदावरीको पहाडी क्षेत्रमा विद्युत् मिटर रिडिङ गर्ने २ जना कर्मचारी छन् । अहिले कर्मचारीको अभाव छैन’ उनले भने ‘अहिले सम्म मिटर रिडिङ नभएको गुनासो आफूकहाँ आएको छैन । त्यसैले मैले यस विषयमा बुझ्न पाएको छैन ।’ उनले हाल नो लाइट अत्तरियामा ११ जना मिटर रिडर रहेको बताए । उनले सम्बन्धित क्षेत्रमा काम गर्ने मिटर रिडर सँग यस विषयमा बुझ्ने बताए ।

















