धनगढी – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेका छन । बिहिबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन ।

मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघिनै राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएका थिए । उनले राजीनामा नदिने भन्दै बर्खास्त गर्न चुनौति दिएका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन् ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोपमा मन्त्री चौधरीलाई राजीनामा गर्न निर्देश जारी भएको थियो । चौधरी जेठ ४ गते उद्योगमन्त्री नियुक्त भएका थिए । उनीभन्दा अघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योगमन्त्री थिए ।
आर्थिक चलखेलको अडिओ सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाभित्र कस्लाई मन्त्री पठाउने भन्ने किचलोकै बीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए ।















