खाेज्नुहाेस

अत्तरिया साना शहरी खानेपानीको वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १६औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष शेर बहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

attariya hospital

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन, लेखा प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको वार्षिक प्रगती प्रतिवेदनका साथै आर्थिक वर्षको अनुमानित आयव्यय, बजेट तथा कार्यक्रमहरु कार्यवाहक अध्यक्ष बिष्टले प्रस्तुत गरेका थिए भने संस्थाको लेखा प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण बहादुर कठायतले प्रस्तुत गरेका थिए ।

करिब साढे २४ करोडको कारोबार

navjiwan hospital

संस्थाले उक्त आर्थिक वर्षमा करिब साढे २४ करोड बराबरको कारोबार गरेको पाईएको छ । संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल २४ करोड ४५ लाख ३० हजार ५८ रुपैया बराबरको कारोबार गरेको छ । जसवाफत संस्थाले ६३ लाख ३३ हजार ६४६ रुपैया खुद बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । गोदावरी नगरपालिका वडा नं. १,२ र ४ का उपभोक्ताहरुका लागि २०५८ सालमा उपभोक्ता समिति गठन गरी २०६० साल वैशाख २४ गते संस्थाको स्थापना गरिएको थियो ।

सो समयमा करिब २ हजार ४०५ जना उपभोक्ताहरुलाई लक्षित गरि डिजाइन गरिएको संस्थामा हाल ५ हजार ५१४ उपभोक्ताहरु रहेका छन । संस्थाले उपभोक्ताहरुको संख्या बढेसँगै नयाँ आयोजना समेत निर्माण गरिसकेको संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले जानकारी दिए । उनका अनुसार संस्थाले खानेपानी आयोजना कार्यालय पानीपोखरीको सहलगानीमा नगरपालिकाको वडा नं. ४ बनदेवीमा साढे ४ लाख लिटरको अर्काे ओभरहेड ट्याङकी निर्माण गरिएको छ ।

नेपाल सरकारको ९ करोड २३ लाख ९१ हजार ६००, नगर विकास कोषको २ करोड ६३ लाख ९७ हजार ६०० तथा नगरपालिका र संस्थाको समान २ करोड ६३ लाख ९७ हजार ६०० रकम गरी कुल १३ करोड १९ लाख ८८ हजार रुपैयामा सो आयोजना निर्माण गरिएको पनेरुले बताए । उनले सो आयोजना अन्तरगत ४५० घरमिटर (४ लाख ५० हजार लिटर) को एउटा ओभरहेड ट्याङकी र २ वटा डिप बोरिङहरु निर्माण गरिएको बताए ।

उनका अनुसार कार्यालय अगाडी रहेको एउटा ओभरहेड ट्याङकीले मात्रै उपभोक्ताहरुलाई पानी पु-याउन सकिने अवस्था नरहेपछि संस्थाले अर्काे ट्याङकी निर्माण गरेको हो । कार्यालयमा ६०० घनमिटर (६ लाख लिटर) को ट्याङकी निर्माण गरिएको छ । सो ट्याङकी स्थापना समयमा नै निर्माण गरिएको उनले बताए । त्यसबाहेक एउटा २०० घनमिटर (२ लाख लिटर) को एउटा रिजर्भ ट्याङकी रहेको उनले बताए । संस्थाले नयाँ आयोजनाका २ वटा बोरिङ बाहेक थप ३ वटा बोरिङ सहित ५ वटा डिप बोरिङहरु अहिले सञ्चालनमा रहेका छन । संस्थाले हालसम्म ११४ किलोमिटर पाईपलाईन विस्तार गरिसकेको कार्यालय प्रमुख पनेरुले बताए ।

चुहावटका कारण समस्या

कार्यालय प्रमुख पनेरुले खानेपानीको चुहावटका कारण पानी आपुर्तिमा समस्या भैरहेको बताए । ‘अहिले पनि कुल पानीको करिब २५% पानी चुहावट भैरहेको छ’ उनले भने ‘यो चुहावटका कारण नै पानी आपुर्तिमा समस्या भैरहेको छ, यसको नियन्त्रणका लागि अनुगमनको कार्यलाई अहिले हामीले प्राथमिकतामा राखेका छौ ।’ उनले स्थानियहरुले पनि पानीको चुहावटमा नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनुपर्ने उनको भनाई छ ।