अत्तरिया – नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा युवा नेता हेमन्त राज जोशी (बाजे) ले आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा नगरपालिका – ६,स्थित २ विद्यालयमा अध्ययनरत करिब ३० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकाले बालबालिकाहरू गुणस्तरीय शिक्षा सँग जोड्न आफूले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको नेपाली हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त समेत रहेका बाजेले जानकारी दिए । जन्मदिनको कार्यक्रममा विद्यार्थीहरूले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए।

झोला वितरण कार्यमा हेमा श्री फाउन्डेसन नेपालकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, जुपिटर एकेडेमी नेपाल प्रधानाध्यापक मनिराम धामी, सहायक प्रधानाध्यापक महेश्वरी जोशी, कैलाली भिजन स्कुलका संस्थापक पूर्ण बम, अमर माध्यमिक विद्यालय अध्यक्ष दान बहादुर कुँवर, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

शैक्षिक सामाग्री वितरण कार्यमा बोल्दै जुपिटर एकेडेमी नेपाल प्रधानाध्यापक मनिराम धामीले शिक्षा क्षेत्रको उन्नतिका लागि युवा नेता हेमन्त बाजेले गरेको योगदान समाज र समुदायले कहिल्यै भुल्न नहुने बताए। उनले शिक्षा प्रति आकर्षण गर्नका निम्ति यस्ता खालका सहयोगले टेवा पुग्ने बताए।
गौरीगंगा– ६,मा रहेका कैलाली भिजन स्कुलका १५ जना र जुपिटर एकेडेमी नेपालका १५ जना गरी ३० जना विद्यार्थीहरूलाई कापी, कलम र झोला शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।




















