खाेज्नुहाेस

बर्सेनि दोहरिन्छन् सुदूरपश्चिमका पुरानै योजना, हुँदैनन् पुरा

Image

अत्तरिया – सङ्घीय सरकारले बिहीबार ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुदूरपश्चिमका अघिकाशं योजना पुरानै छन् । जुन योजना यस क्षेत्रका जनताले सङ्घीय बजेटमा बर्सेनि सुन्दै आएको भए पनि पुरा हुने त परको कुरा केही योजना आर्थिक वर्ष सकिदा सम्म सुरु समेत हुँदैनन् ।

यस पटकको बजेटमा पनि यस्तै केही योजना दोहरिएका छन् भने बजेट रकम नै नखुलाएर सुनाइएका यस्ता योजना कार्यान्वयनमा जानेमा समेत आशङ्का छ ।

add everest academy
attariya hospital

बजेटमा सरकाले दशकै देखि घोषणा मै सीमित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, कर्णाली बहुउद्देश्यीय जलविद्युत आयोजना देखि शिलान्यास भएर पनि कामै हुन नसकेको दैजी छेला औद्योगिक क्षेत्र पनि बजेटमा समेटिएका छन् ।

वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निकै महत्वाकाक्षि योजना कर्णाली बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन गरिने देखि लिएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर तयार गरी निर्माणमा अग्रसरता लिइने सम्मका योजना सुनाए । जुन योजना लामो समय देखि चर्चामा मात्रै सीमित रहेका छन् ।

बजेटमा पछिल्लो समय वनले अवरोध गरेको चैनपुर सेती जलविद्युत आयोजना पनि समेटिएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजना भने सरकारले पहल कदम लिएमा अगाडि बढ्ने देखिन्छ । यस्तै बजेटमा सरकारले दैजीमा आधुनिक औद्योगिक क्षेत्र लगानी बोर्ड मार्फत निर्माण गर्ने जनाएको छ । तर, यो योजना ४ वर्ष अघि नै हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिलान्यास गरे पनि काम अघि बढ्न सकेको छैन । यो योजना रुख कटानी र जग्गा प्राप्तिमै अड्किएको छ ।

attariya technical collage

सरकारले वर्षै देखि बजेटमा दोह-याउँदै आएको दोधारा चाँदनी सुख्खा बन्दरगाह यस पटकको बजेटमा पनि समेटिएको छ । यो योजना निर्माणका लागि भने हाल रुख कटानको काम भइरहेको छ । यसको निर्माणको जिम्मा भने भारत सरकारलाई दिइएकाले हाल भारत सरकारले निर्माण कम्पनी छनोटको काम गरिरहेको छ ।

navjiwan hospital

बजेटमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि पनि बजेट विनियोजन गरिएको जनाइएको छ । अर्थमन्त्री पौडेलले फाप्ला सहित देशका ४ वटा रङ्गशाला निर्माणका लागि ४२ करोड विनियोजन गरिएको बताए पनि कुन रङ्गशालाका लागि कति बजेट छुट्टाइएको छ भन्ने बारेमा भने खुलाएनन् । यो योजना अघि सारिएको पनि वर्षौँ बितिसकेको छ ।

बजेटमा करिब भौतिक संरचना निर्माणको काम सकिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि समेटिएको छ । विश्वविद्यालयको विधेयक हालै प्रतिनिधि सभाबाट पारित भएकाले यसलाई सञ्चालन गर्न करिब ३ देखि ४ अर्ब बजेट आवश्यक पर्ने बताइने गरिन्छ । तर, बजेट भाषणमा भने रकम खुलाइएको छैन । बजेटमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

२०५२ सालमा महाकाली सन्धि भएदेखि चर्चामा आएको महाकाली सिँचाइ योजना पनि यस वर्षको बजेटमा पनि समेटिएको छ । हाल केही प्रगतिका साथ निर्माणाधीन अवस्थामा रहेको यो आयोजना ३ वर्ष भित्र सम्पन्न गरिने बजेटमा घोषणा गरिएको छ । बजेटमा लामो समय देखि चर्चामा रहेको डडेल्धुरा विमानस्थल निर्माण गर्न विस्तृत अध्ययन गरिने विषय समेटिएको छ ।

बजेटमा पूर्व पश्चिम राजमार्ग विस्तारको पुरानै योजना अन्तरगत खण्ड छुट्टाएर बजेट विनियोजन गरिएको छ । जसअन्तरगत सुदूरपश्चिमको गड्डाचौकी – अत्तरिया सडक स्तरोन्नति सहितका योजनाको लागि २१ अर्ब १९ करोड विनियोजन  गरिएको अर्थमन्त्री पौडेलले बताए ।

बजेटमा अत्तरिया-खोड्पे- दार्चुला सडकको विस्तृत अध्ययन गरि डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्ने, महाकाली करिडोर अन्तरगत ब्रह्मादेव- झुलाघाट- तुसारपानी खण्डको स्तरोन्नति गर्न र तुसारपनी – टिंकर खण्डको ट्रयाक खोल्न बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताएका छन । यस्तै खुटिया दिपायल सडकका लागि पनि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । 

बजेटमा शुक्लाफाँटामा, खप्तड, रामारोशन, बडिमालिकामा पर्यटन पदमार्ग निर्माण गरिने योजना समेटिएको छ । बजेटमा देशभरका ३ प्रदेश सहित सुदूरपश्चिममा पनि महिला पुन स्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । बजेटमा निकै ठुला र आकर्षक योजना समेटिए पनि बर्सेनि दोहरिँदै आएका योजना पुनः दोहरिएकाले यस पटक पनि ती योजना समयमै सुरु भएर सम्पन्न होलान् भन्ने कुरामा यस क्षेत्रका जनता भने ढुक्क हुन सकेका छैनन् ।