धनगढी – दसैँ अवधिभर सुदूरपश्चिम प्रदेशमा डेढ सयभन्दा बढी सडक दुर्घटना भएका छन् । असोज २५ देखि कात्तिक ७ सम्म १५२ वटा दुर्घटना भएका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दसैँ अवधिभरि भएको दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन् ।
कैलालीमा चार र कञ्चनपुरमा दुई जनाले दसैँका बेला सडक दुर्घटनामा ज्यान गुमाएको सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए । कैलालीमा ८८ दुर्घटनामा १४६ जना घाइते भएका जनाइएको छ ।


यसै गरी कञ्चनपुरमा ३५ दुर्घटनामा ५० जना, डडेलधुरामा १० दुर्घटनामा १५ जना, डोटीमा आठ दुर्घटनामा आठ जना, बैतडीमा भएको एक दुर्घटनामा एक जना घाइते भएका छन् ।
यस्तै अछाममा पाँच दुर्घटनामा आठ जना, बझाङमा एक दुर्घटनामा आठ जना, बाजुरामा दुई दुर्घटनामा चार र दार्चुलामा दुई दुर्घटनामा पाँच जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
चाडपर्वका बेला सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन अन्य सवारीसाधनमा ठोक्किएर दुर्घटना भएको सूचना अधिकारी भट्टले बताए । उनले प्रहरी निगरानी र चेकजाँचका कारण ठुला सवारीसाधन भने दुर्घटना भएनन् ।


















