अत्तरिया – केही दिन अघि जिरा मोही उत्पादन सुरु गरेको दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियाले विभिन्न स्वादयुक्त आइसक्रिम उत्पादन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा दुग्धजन्य उत्पादनको खपत दिन प्रतिदिन बढ्दै गइरहेका बेला डीडीसीले पहिलो पटक आइसक्रिम उत्पादन सुरु गरेको हो ।

आयोजनाका प्रमुख निरञ्जन भट्टराइले आफ्ना उत्पादनहरू विस्तार गर्ने क्रममा गर्मीको सिजनलाई मध्यनजर गरी आइसक्रिम उत्पादन सुरु गरेको बताए । ‘संस्थानले पहिले दूध, दही, घ्यू, पनिर, मोही जस्ता उत्पादनहरू उपलब्ध गराउँदै आएको थियो । त्यसपछि हामीले जिरा मोही बजारमा ल्यायौ’ उनले भने ‘विभिन्न फ्लेभरका आइसक्रिम उत्पादन थालनी गरेका छौ ।’

उनले आइसक्रिम १ सय एमएलको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको बताए । उनले ५ सय र १ हजार एमएलका फ्याम्ली प्याक पनि तयार गर्ने योजना रहेको बताए । डीडीसीले आइसक्रिम बनाउनको लागि ४ लाख ८० हजारमा ९ लिटर क्षमताको मेसिन खरिद गरेको बताए ।
डीडीसीले ३ सय एमएलको जिरा मोही पनि उत्पादन सुरु गरेको थियो । जसको मुख्य ३५ रुपैयाँ तोकिएको छ । जिरा मोही बजारमा पाइने पेय पदार्थ भन्दा सस्तो र स्वास्थ्यवर्धक भएको उनले बताए । उनले उपभोक्ताबाट आइसक्रिमको राम्रो प्रतिक्रिया पाएको बताए ।
















