धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले बाजुरास्थित धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा पहिलोपटक सरकारी डोल पठाउने भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार यस वर्ष बडीमालिका मन्दिरमा लाग्ने मेलाका अवसरमा विधिपूर्वक पूजा सामग्रीसहित डोल पठाउने तयारी गरिएको छ । उनले भने, ‘धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो, जहाँ सबै जिल्लाका बासिन्दा बसोबास गर्छन् । बडीमालिका प्रति धेरैको आस्था रहेकोले हाम्रो तर्फबाट पहिलोपटक यो धार्मिक योगदान गर्ने तयारी गरेका छौँ ।’

इतिहास हेर्दा राणाकालदेखि नै डोटी, जुम्ला, बाजुरा तथा गोर्खा पल्टन र चन्द्रनाथ पल्टनबाट बडीमालिकाका लागि सरकारी डोल पठाउने परम्परा रहँदै आएको पाइन्छ । यसै परम्परालाई पछ्याउँदै धनगढी उपमहानगरपालिकाले पनि श्रीवृद्धिका लागि भन्दै यो पहल थालेको हो ।
डोल धनगढीमै पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूको नेतृत्वमा पठाइनेछ । यसरी, जेठ शुल्क पक्षको अष्टमी तिथिमा गरिने बडीमालिका मन्दिरको विशेष पूजामा धनगढीको पनि सहभागिता रहनेछ ।


















