अत्तरिया – कैलालीको अत्तरियामा २०६७ मा स्थापना भएको दुग्ध विकास संस्थान (डिडिसी) का लागि जग्गा खोज्न कार्यदल गठन गरिएको छ । ठाउँ अभावका कारण अत्तरियामा रहेको डिडिसी धनगढी सार्ने तयारी गरिएपछि यसै क्षेत्रमा जग्गा खोज्न गोदावरी नगरपालिका – १ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरिएको हो ।
समितिमा नन्दलाल भट्ट, भीम बहादुर विक, सेर बहादुर विष्ट, मान बहादुर बलायर, तारा देवी महरा, बाबुराम बलमपाकी, शिवराज जोशी, डिल्ली राज जोशी, लोकराज पाण्डे (आगो), नैन सिंह कार्की, वसन्त रोकाया (ललित), शर्मानन्द भट्ट, राजु देवी विक, पार्वती धामी रहेका छन् ।


प्रवक्ता भट्टले हाल डीडीसी रहेको क्षेत्रमै जग्गा उपलब्ध गराउनको लागि कार्यदलले काम गर्ने बताए । उनले डीडीसी सँगै जोडिएको चाहना महिला सामुदायिक वनको सेरोफेरोमा जग्गा उपलब्ध गराउन समितिले काम गर्ने बताए । उनले डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि यसअघि पनि प्रक्रिया अगाडि बढेर फाइल तयार भएकाले सोही फाइललाई फलोअप गरेर अगाडि बढ्ने बताए ।

कार्यालय धनगढीमा सार्ने तयारी गरिएपछि मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।
नगरप्रमुख वीरेन्द्र भट्टले आफ्नो सामीत्वमा जग्गा नभएकाले सामुदायिक वन, जिल्ला वन सँग समन्वय गरेर जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढाइने बताए । उनले यसअघि नै जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढिसकेकाले डीडीसीलाई यस क्षेत्रमा जग्गा उपलब्ध गराएर बाहिर जानुपर्ने परिस्थिति आउन नदिइने बताए ।

बैठकले डिडिसीलाई जग्गा उपलब्ध गराउनको लागि समिति बनाउने र डीडीसी धनगढी सार्ने प्रक्रिया रोक्ने प्रतिबद्धता जनाएको छ । यसअघि आयोजना प्रमुख निरञ्जन भट्टराइले डीडीसीको क्षेत्र विस्तार गर्न आवश्यक भएकाले धनगढीमा उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमाका सार्ने प्रक्रिया अगाडि बढेको बताएका थिए ।
सम्बन्धीत समाचार : अत्तरियाको डीडीसी धनगढी सार्ने तयारी, स्थानीयको चर्को बिरोध
















