खाेज्नुहाेस

जयपृथ्वी राजमार्ग अझै सुचारु भएन

Image

बझाङ – तीन दिन देखि अवरुद्ध बझाङमा पर्ने जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन । बिहीबारदेखि निरन्तर आएको वर्षाले शुक्रबार साँझ छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

attariya hospital
navjiwan hospital

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताइन् ।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन् । ‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ’, उनले भनिन् ।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए ।

गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।