अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नम्बर ७ मा निर्माण गरेको गौशाला सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
प्रदेश सरकारको लागतमा तत्काल करिब ५० वटा चौपायाहरु अट्न सक्ने गौशालाको सोमबार उद्घाटन गरिएको छ । नगरप्रमुख विरेन्द्र भट्टले उक्त गौशालाको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै उनले भगवान कृष्णको जन्माष्टमीका अवसरमा गौशालाको उद्घाटन गरिएको बताए ।


उनले गाईहरुसँग कृष्ण भगवानको ईतिहास जोडिएका कारणले पनि सो दिनबाट गौशाला सञ्चालनमा ल्याईएको बताए । ‘आज भगवान कृष्ण जन्मेको दिन, भगवान कृष्णको ईतिहास गाईहरुसँग जोडिएको हुनाले पनि हामीले आज गौशाला उद्घाटन गरेका हौ’ उनले भने ‘गौशालामा अब नगरका १२ वटै वडामा रहेका छाडा चौपायाहरुलाई व्यवस्थीत गर्न सहज हुनेछ ।’ विगतका २ वर्ष छाडा चौपायाको व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनले बताए ।
उनले आगामी दिनमा छाडाचौपायालाई व्यवस्थीत रुपमा अगाडि बढाउन पनि नगरपालिका लागिपरेको बताए । त्यसका लागि नगरपालिकाले गत वर्ष नै कार्यविधि बनाईसकेको उनले बताए । उनले कार्यविधिमा टेकेर नगरपालिकाले काम गर्ने बताए । ‘यो नगरक्षेत्र भित्र रहेका दुध दिन बन्द भैसकेका गाईहरु गौशालामा राख्ने र त्यहाँबाट दुध दिने गाईहरु नगरबासीहरुले लैजाने लगायतका विभिन्न कुरा समेटेर कार्यविधि बनेको छ’ उनले भने ‘त्यतिमात्रै नभई कम्पोष्ट मल उत्पादन गर्ने, रोजगारी सृजना गर्ने तथा यसलाई धार्मिक एवम् पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने कार्ययोजना हामीले बनाएका छौ ।’

उनले सोमबार उद्घाटन मात्रै भएको र व्यवस्थीत रुपमा सञ्चालन गर्न अझै समय लाग्ने बताए । उनले चालु आर्थिक वर्ष भित्र सबै वडाका छाडा पशुचौपायाको समस्या समाधान गर्ने गरी नगरपालिका अगाडी बढेको बताए । नगरप्रमुख भट्टले नगरपालिकाको डाटा अनुसार झण्डै साढे ५ सय छाडा चौपायाहरु रहेको र ति भन्दा केही बढी चौपायाहरु राख्न सक्ने गरी जमिन लिने सामुदायिक बनसँग समन्वय भएको बताए ।

उनले चालु आर्थिक वर्षमै गौशाला वरपर तारजाली तथा पानीको व्यवस्था गरिने बताए । उनले गाई व्यवस्थापनका लागि एक जना स्वामीलाई जिम्मेवारी दिईएको बताए । ‘एक जना यही विषयमा पिएचडि गरेको स्वामीले यसको व्यवस्थापनको जिम्मेवारी लिनुभएको छ’ उनले भने ‘हामीले उहाँलाई केही दिने हैन, उहाँले निःशुल्क रुपमा नगरको छाडा चौपायाको व्यवस्थापनमा सहयोग गर्नुहुन्छ ।’ नगरले चालु आर्थिक वर्षमा गौशालाका लागि ५० लाख रुपैया बजेट विनियोजन गरेको बताए । उनले गौशालाकै लागि प्रदेश सरकारसँग पनि बजेटको माग गरिरहेको बताए ।
गौशाला व्यवस्थापनको जिम्मा लिएका स्वामी यतिराज कडेँलले गाईको वंश संरक्षणका लागि आफुहरुले गौ संरक्षण अभियान सञ्चालन गरेको बताए । उनले सोही अभियान अन्र्तगत आफुहरुले गोदावरी नगरपालिकामा बनिरहेको गौशाला व्यवस्थापनको जिम्मेवारी लिएको बताए । उनले सो गौशालालाई गाईले गाईलाई पाल्ने आत्मनिर्भर गौशाला बनाउने लक्ष्य रहेको बताए । त्यतिमात्रै नभई आगामी दिनमा गौशालाबाट विभिन्न किसिमका आयुर्वेदिक औषधीहरु, धुपहरु, हवन गर्ने चरो, गोनाईल लगायतका वस्तुहरु उत्पादन गर्ने पनि योजना रहेको बताए । उनले आफुले गौशाला व्यवस्थापनका लागि नगरपालिकाबाट पारिश्रमिक नलिने बताए ।
उक्त गौशाला निर्माणका लागि प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १८ लाख ४८ हजारमा शिरिषा एण्ड समायरा कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसारको असार मसान्त भित्रै सम्पन्न गरिसकेको ठेकेदार कम्पनिले जनाएको छ । उक्त गौशालामा दुध दिने तथा भरखरै बाच्छा पाएका गाईहरुलाई मात्रै राखिने बताईएको छ ।
गोदावरी नगरको मात्रै नभई सुदूरपश्चिमका सम्भवतः सबै स्थानिय पालिकाहरुको मुख्य चुनौतीको रुपमा छाडा पशुचौपाया व्यवस्थापनको समस्या देखिएको छ । छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि तिनै तहका सरकारले करोडौ रकम खर्च गरेपनि हालसम्म समस्या भने जस्ताको तस्तै रहेको छ । छाडा पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढिरहेको छ भने किसानहरुले ढुक्कले खेतीपाती गर्न पाएका छैनन् । छाडा पशु चौपायाहरुको व्यवस्थापन गर्न सके कृषकहरुलाई धेरै राहत हुने विश्वास लिईएको छ ।
















