खाेज्नुहाेस

गोदावरी धामलाई नदीले सिध्याउँदै

Image
अत्तरिया – पवित्र धार्मिक स्थलका रूपमा रहेको कैलालीको गोदावरी धाम नदी कटानको उच्च जोखिममा रहेको छ । धामछेउमै बग्ने गोदावरी नदीले वर्षेनी कटान गरिरहँदा गोदावरी धामको अस्तित्व नै संकटमा पर्ने आँकलन हुन थालेको छ । नदी पारी रहेको पञ्चदशनान जुना अखडा शिव भगवती मन्दिरको अवस्था झनै खस्कँदो छ । सो मन्दिरमा जाने बाटो नै नदी भएर जाने हुनाले श्रद्धालु भक्तजनहरूलाई आवतजावतमा समेत समस्या हुन थालेको छ ।
add everest academy
attariya hospital
नदीले सिध्याईरहेको गोदावरी धामको अस्तित्व बचाउन बलियो तटबन्ध आवश्यक रहेको स्थानीय बताउँछन् । स्थानीय भुवन भट्टले नदीले गोदावरी धाम पवित्र धामको रूपमा चिनिए पनि नदीको कटानका कारण जोखिममा परेको बताए । पञ्चदशनान जुना अखडा शिव भगवती मन्दिर व्यवस्थापन समितिका सदस्य समेत रहेका उनले नदी कटानबाट गोदावरी धाम बचाउन दुई तिर कंक्रिट तटबन्ध गर्न आवश्यक रहेको बताए । नदीको कटान रोक्नका लागि त्यो तटबन्ध मात्रै काम लाग्ने उनको बुझाई छ ।
attariya technical collage
‘नदीमा आएको बाढीले कटान गर्दा गोदावरी धाममा रहेका पुराना मन्दिरहरू पनि संकटमा परेका छन्’ उनले भने ‘यसको सुरक्षाका लागि गोदावरी नगरपालिकामा डेलिगेसन लगेर गएका थियौ ? नगरपालिकाले पहिलो लटमा १० वटा जाली दियो ।’ उनले उक्त जाली भर्ने काम भैसकेपनि त्यसको रकम कसले दिने भन्ने अन्यौलता रहेको बताए । त्यति मात्रै नभई दोस्रो लटमा नगरपालिकाले पुनः १५ वटा जाली दिएको उनको भनाई छ । उनले उक्त जालीहरू पनि भरान हुन नसक्दा थन्क्याइएर राखिएको बताए । उनले भरिएका जालीहरू पनि मंगलबार राती आएको बाढीले पुरिदिएको बताए ।
मन्दिरका महन्त तुलसी गिरीले प्राचीन पुरातत्त्व बोकेको मन्दिर नदीले सखाप पार्न थालेको बताए । उनले पाण्डवहरूले शिवालय बनाएको शेष समेत रहेको स्थान नदीको उच्च जोखिममा रहेकाले त्यसको संरक्षण गर्न अति आवश्यक रहेको बताए । ‘यो मन्दिरमा पाण्डवहरूले बनाएको शिवालयको निशाना समेत छ, यहाँ विभिन्न धार्मिक मेलाहरू लाग्ने गरेका छन्’ उनले भने ‘मन्दिर परिसरमा पुराना गुरुहरूले लगाएका बोटबिरुवाहरू समेत नदीले वर्षेनी लगिरहेको छ, नदीको कटानका कारण मन्दिर जोखिममा छ भने नदीले मन्दिरमा जान समेत समस्या हुने गरेको छ ।’ उनले मन्दिरमा हाल १५ जना साधुहरू बसिरहेको बताए ।
‘यहाँ १५ वटा साधु बसिरहेका छन्, ३२ वटा गाई छन्, नजिकका क्षेत्रहरूमा भिक्षा मागेर गुजारा गरिरहेका छौ’ उनले भने ‘नदीका कारण आवत जावत गर्न सकिने अवस्था नहुँदा झन् समस्या हुने गरेको छ, यहाँ एउटा झोलुङ्गे पुल भएको भए सहज हुने थियो ।’ उनले मन्दिरमा बस्ने साधुहरूले प्रयोग गर्दै आइरहेको खानेपानीको धारा समेत नदीले कटान गरिरहेको बताए । उनले हिन्दु जगतको आस्थाको थलोलाई सबैले बचाइदिन आग्रह गरे । उनले आरसिसी ढलान गरी बलियो तटबन्ध गर्न सके मात्रै गोदावरी धामलाई बचाउन सकिने बताए ।
navjiwan hospital
मन्दिर पिच्छे समितिले धाम संकटमा
प्राचीन पुरातत्त्व बोकेको गोदावरी धामलाई सुदूरपश्चिममै पर्यटकीय क्षेत्रका रूपमा हेर्ने गरिएको छ । यहाँ शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, ४३ फिट अग्लो हनुमानको मूर्ति लगायत तथा अन्य देवी, देवताका मूर्ति र मन्दिरहरू पनि रहेका छन् । ती मन्दिरहरूमा अलग अलग समितिहरू गठन गरिएका छन् । जसका कारण गोदावरी धाम संकटमा परेको छ । मन्दिर पिच्छे बनेका समितिहरूले टुक्रे योजनाहरू ल्याउने र पचाउने मेसो बनाउँदा गोदावरी धाम वर्षेनि जोखिममा पर्दै आइरहेको छ ।
स्थानीय भुवन भट्टले उक्त क्षेत्रमा विभिन्न मन्दिरहरूका अलग अलग समितिहरू बनाएर टुक्रे बजेट ल्याइँदा नै गोदावरीको विकास हुन नसकेको बताए । उनले गोदावरीको विकासका लागि गोदावरी धाम क्षेत्रका सबै समितिहरूलाई मिलाएर एउटा मात्रै समिति बनाइनुपर्ने बताए ।
‘यहाँ अलग अलग समितिहरू बनाएर टुक्रे योजनाहरू ल्याउने, दुई चार वटा कामहरू गर्ने गरेका कारण गोदावरी धाम संकटमा परेको छ’ उनले भने ‘गोदावरी धामको वृहत् विकास गर्ने हो भने, सबै समितिहरूलाई जोडेर यहाँको आवश्यकता के हो भन्ने बुझेर सो अनुसारको योजना ल्याउन आवश्यक रहेको छ ।’
उनले टुक्रे योजनाहरू ल्याउँदा कसैको चुलो चौको बल्न सक्ने तर आस्था र विश्वाससहितको आशा बोकेको वृहत् गोदावरी बन्न नसक्ने बताए । उनले वृहत् गोदावरी बनाउनका लागि सबै समितिहरूलाई एक बनाएर आवश्यकता अनुसारका वृहत् योजनाहरू ल्याउन आवश्यक रहेको बताए । त्यसको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने उनको भनाई छ ।