अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ की सम्झना चौधरीले विगत ४ वर्षदेखि बाल बचत गर्दै आएकी थिइन् । छोरी ठुलो भएपछि पढाइमा खर्च जुटाउन सहज हुने आसमा उनले मासिक रूपमा अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाकी फिल्ड प्रतिनिधि बिना चौधरी (योगी) मार्फत बचत गर्दै आएकी थिइन् ।
बिनाले घरमै आएर मासिक र कहिलेकाहीँ एकमुष्ट २/३ महिनाको बाल बचतको रकम उठाउँदै आएकी थिइन् । तर, २ साता अघि आफ्नो रकम बचत गर्ने बिना फरार भएको सुनेपछि उनी आत्तिएर सहकारीमा पैसा जम्मा भएको बुझ्न पुगिन । सहकारीमा जाँदा चल्ती खातामा ११ सय मात्रै जम्मा भएको भेटिएपछि उनी अहिले छाँगाबाट खसेजस्तो भएकी छिन् ।

‘११ वर्षको लागि बाल बचत खाता खोलेको थिए । मेरो समय नपुगेकाले म सहकारीमा बुझ्न गएकी थिएन’ उनले भनिन् ‘बाल बचत मुद्दती खातामा जम्मा हुने भएकाले झिक्न पनि मिल्दैन भनेर सोचेकी थिए । अहिले बुझ्न जाँदा चल्ती खातामा ११ सय मात्रै भेटियो । उसले (बिना) पैसा दिए जतिको सबै आफै खाएकी रहेछिन । अफिसमा राख्दै नराखेकी रहेछिन ।’
उनले ४ वर्षको अवधिमा आफ्नो बाल बचत खातामा ७० हजार जम्मा भएको हुनुपर्ने भए पनि अहिले खाता रित्तो भएको बताइन् । ‘म यही महिनाको (साउन) १८ गते सहकारीमा बुझ्न गएकी थिए । अफिसमा पैसा छैन भने । खातामा जम्मै भएको छैन भने’ उनले भनिन् ‘अरूको पैसा पनि नभेटिएपछि अफिसमा हेर्न गएकी थिए । अफिसमा मेरो पैसा नभेटिएपछि कसले मेरो अनुमति बिना निकाल्यो भनेर सोधे । तर, त्यहाँ सुरुमा खाता खोल्दा ११ सय बाहेकको पैसा जम्मा नै नभएको रहेछ ।’
उनले बाल बचतको पैसा घरमै बिनाको हातमा दिने गरेको बताइन् । ‘पैसा हामीले घरमै बिनाको हातमा दिन्थ्यौ । २÷३ पटक मैले हाम्रो पैसा पास बुकमा चढाएको त देखेकी थिए । तर, त्यो पैसा अफिसमा नदिने रहेछिन’ उनले भनिन् ‘सुरुमा फारम भराएकी थिइन त्यसपछि हाम्रो पास बुक पनि लगेर गइन् । व्याज चढाउनु पर्छ भनेपछि दियौ । अहिले पास बुक पनि हामीसँग छैन ।’
उनले बाल बचत खाता खोल्दा बच्चाको बचत हुने, व्याज पनि बढी हुने, बर्थडेमा केक पनि पाइने बिनाले आश्वासन दिएको बताइन् । उनले ४ वर्षको अवधिमा जन्म दिनको अवसरमा भने बिनाले केक पठाउने गरेको बताइन् । उनले धेरै वर्ष पहिले देखि बिना सहकारीमा काम गर्ने र चिनजानकै भएकाले आफूहरूले विश्वास गरेको बताइन् ।

सम्झना जस्तै रुपा चौधरीले पनि आफ्ना छोराको नाममा बाल बचत खाता खोलेकी थिइन् । ५ वर्षको अवधि राखेर बाल बचत गरेकी उनले गत फागुनमै अवधि पुगेकाले सहकारीबाट पैसा झिक्न खोजेकी थिइन । तर, उनी सहकारीमा पैसा झिक्न जाने चाल पाएकी बिनाले रुपालाई आफैले घरमा बचत भएको पैसा ल्याइदिने बताएकी थिइन ।
‘मेरो ५ वर्ष पुगेपछि म पैसा लिन गएकी हु । मेरो ४७ हजार जम्मा भएको थियो । पैसा निकाल्ने कुरा गर्दा मेरो घर आउनु सहकारीमा नजानु भने । म फागुन १५ गते देखि लगातार ७ दिन तिनको घरमा गए’ उनले भनिन् ‘आज दिन्छु भोलि दिन्छु भनेर रोक्न लगाएर पछि बेपत्ता भइन् ।’ उनले सहकारीमा बचत गर्दा पास बुक दिएको भए पनि पछि ब्याज चढाउनु पर्छ भनेर लगेर आलटाल गरेको बताइन् ।
‘अहिले म सँग पास बुक पनि छैन । पुस महिनामा व्याज चढाउँछु भनेर लगेकी थिइन । त्यसपछि दिइनन्’ उनले भनिन् ‘सहकारीमा मेरो श्रीमान् बुझ्न जानु भएको थियो । किन हाम्रो बचत गरेको पैसा पाइएन भन्दा त्यहाँका कर्मचारीले बिनालाई गाली गरे बिनाले मेरो श्रीमानलाई गाली गरिन् ।’ उनले त्यसपछि बिनाले घरमै आएर पैसा दिन्छु सहकारीमा नजानु भनेर झुक्याएको बताइन् ।
रुपा जस्तै गोदावरीकी प्रमीला चौधरीले पनि बिना मार्फत ४ वर्ष देखि बाल बचत गर्दै आएकी थिइन् । ४ वर्षमा ५० हजार जम्मा गरेकी उनी सँग पनि अहिले बचत पास बुक छैन । उनले पनि ब्याज चढाउनु पर्छ भनेर बिनाले पास बुक लगेको बताइन् । उनले १० वर्षको लागि पैसा जम्मा गरेकाले आफू ढुक्क भएर बसेको भए पनि हाल आएर मात्रै सहकारीमा पैसा जम्मा नै नभएको थाहा पाएको बताइन् ।
बिना सँगै मासिक बाल बचत गराउँदै आएकी रञ्जना कुमारी चौधरीले भने आफ्नो बचत भएको पैसा पाएको बताएकी छिन् । ‘मेरो ५० हजार जम्मा भएको थियो । मैले तिनकै घरमा काम गर्ने भएकाले आफ्नो पास बुक आफैसँग राखेकी थिए’ उनले भनिन ‘मेरो पैसा पनि सहकारीमा थिएन । तर, मैले सहकारीमा पास बुक देखाएर झगडा गरेपछि मलाई सहकारीले पैसा दियो ।’ उनले सहकारीले आफ्नो जम्मा नभएको पैसा कहाँबाट दियो भन्ने जानकारी नभएको बताइन् ।
एक वर्षदेखि बिनाकै घरमा काम गदैै आएकी उनले बिनाले सबैका पास बुक घरमै राख्ने गरेको बताइन् । ‘घरको ¥याकमा अलग अलग टोलका पास बुक राखेकी थिइन’ उनले भनिन् ‘मलाई यस्तो गर्छिन् भन्ने पहिले शङ्का भएन । पछि थाहा पाए ।’
उनीहरूले बिनाले दैनिक बचत गर्नेभन्दा पनि बाल बचत खातामा जम्मा गरेको पैसा लामो अवधिको हुने भएकाले धेरैको रकम हिनामिना गरेको बताएका छन् । अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्नी पूर्व कर्मचारी बिनाले सहकारीका नाममा पैसा उठाएर सहकारीमा जम्मा नगरेको भेटिएको जनाएको छ । सोमबार सहकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिनाले सहकारीले पास बुकमा चढाइएको तर, सहकारीमा जम्मा नगरेको पैसा लिन आएका ग्राहकहरूलाई सहकारीले पैसा दिने जनाएको छ । सहकारीका अध्यक्ष वसन्त रोकायाले सोमबार सम्ममा करिब ५ लाख यस्तो रकम भेटिएको बताए । उनले पास बुक भएकाहरूको रकम सहकारीमा सुरक्षित रहेको बताए । सहकारीले पास बुक भएकाहरूको पैसा सहकारीमा जम्मा नभए पनि दिने बताउँदा पास बुक पनि बिनासँगै भएकाहरू भने समस्यामा परेका छन् ।
बिनालाई सहकारीले असार १५ गते नै निलम्बन गरेको जनाएको छ । उनी १ महिना देखि सम्पर्क विहीन छिन । उनले गोदावरी नगरपालिका – १ मनहरामा रहेको घर समेत बिक्री गरेर फरार भएको स्थानीयको भनाइ छ । उनी माथि अत्तरिया क्षेत्रमा विभिन्न व्यक्तिहरू सँग पनि व्यक्तिगत रूपमा लाखौँ रकम लिएको आरोप लागेको छ ।



















