खाेज्नुहाेस

कैलालीका स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड

Image

धनगढी – कैलालीका १३ वटा स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार रुपियाँ पुगेको छ । स्थानीय तहमा ऐन, नियम विपरीत मनपरी तरिकाले बजेट खर्च गर्ने परिपाटीका कारण स्थानीय तहको बेरुजु घट्नुको सट्टा बर्सेनि बढ्दै गएको हो। महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७९/८० अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार यहाँका प्रत्येक स्थानीय तहमा करोडौँ रुपियाँ नयाँ बेरुजु थपिएको छ।

कैलालीमा सबैभन्दा बढी बेरुजु घोडाघोडी नगरपालिकाको देखिएको छ।सो पालिकाको कुल बेरुजु रकम ४९ करोड ५४ लाख ८३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।आर्थिक वर्ष २०७९/८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु दुई करोड ९८ लाख ९० हजार रुपियाँ देखिएको छ।यसअघिको आर्थिक वर्षसम्म घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रुपियाँ रहेको थियो।

attariya hospital
navjiwan hospital

यस्तै, दोस्रो बढी बेरुजु गोदावरी नगरपालिकाको रहेको छ।सो पालिकाको अद्यावधिक बेरुजु ४९ करोड २९ लाख सात हजार रुपियाँ पुगेको छ।आर्थिक वर्ष २०७९/८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु पाँच करोड ४८ लाख ७७ हजार रुपियाँ थप भएको छ।यस अघिसम्मको बेरुजु ४३ करोड ८६ लाख ३१ रुपियाँ रहेको थियो।

तेस्रो बढी बेरुजु लम्कीचुहा नगरपालिकाको देखिएको छ।लम्कीको अद्यावधिक बेरुजु ४७ करोड छ लाख ४१ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।आर्थिक वर्ष २०७९र८० लेखापरीक्षणबाट लम्कीचुहाको नयाँ बेरुजु चार करोड १० हजार रुपियाँ देखिएको छ।अघिल्लो आर्थिक वर्षसम्म यो पालिकाको बेरुजु ४३ हजार सात लाख ६६ हजार रहेकोमा एक लाख ३५ हजार रुपियाँ समपरीक्षण गरिएको थियो।

धनगढी उपमहानगरपालिकाको कुल बेरुजु ३२ करोड ४८ लाख ७१ हजार रुपियाँ पुगेको छ।आर्थिक वर्ष २०७९/८० मा मात्रै धनगढीको बेरुजु चार करोड ५२ लाख ९३ हजार रुपियाँ थपिएको छ।त्यस्तै, टीकापुर नगरपालिकाको दुई करोड ३७ लाख ७९ हजार नयाँ बेरुजु थप भई ३० करोड २३ लाख ८२ हजार, भजनी नगरपालिकाको चार करोड तीन लाख ८१ हजार थप भई ३२ करोड ६७ लाख ११ हजार रुपियाँ पुगेको छ।गौरीगङ्गा नगरपालिकाको बेरुजु तीन करोड ७९ लाख ८० हजार रुपियाँ थप भई ३० करोड २२ लाख ४७ हजार रुपियाँ पुगेको छ।

यो जिल्लामा सबैभन्दा कम १२ करोड ४४ हजार रुपियाँ बेरुजु जोशीपुर गाउँपालिकाको रहेको छ।यसैगरी, कैलारी गाउँपालिकाको बेरुजु १४ करोड ६५ लाख, मोहन्याल गाउँपालिकाको बेरुजु २० करोड ८९ लाख ४४ हजार रुपियाँ पुगेको छ।त्यस्तै, जानकी गाउँपालिकाको बेरुजु १९ करोड ४७ लाख ६६ हजार रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।चुरे गाउँपालिकाको बेरुजु १४ करोड १७ लाख ३९ हजार र बर्दगोरिया गाउँपालिकाको बेरुजु १७ करोड २३ लाख ८२ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।धेरैजसो स्थानीय तहले पुरानो त्रुटिलाई नसच्याई दोहोर्‍याउँदै गइरहेको प्रतिवेदनमा औँल्याइएको छ।