अत्तरिया – कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका लाखौं रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र वडा नं. १७ बाँसखेडा क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख २२ हजार रुपैयाँ बराबरका हेडफोन, स्पिकर, ज्यामेट्री बक्स, कपी तथा भारतीय नम्बर प्लेट भएको मोटरसाइकल लगायतका सामान सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ७९ हजार ९ सय रुपैयाँ बराबरका वाल पेपर रोल, ग्रास कार्पेट, ब्यानर तथा फ्रेम लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ।
बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


















