अत्तरिया – डडेल्धुरामा उत्पादित काउलीमा विषादी भेटिएको छ । सोमबार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ अत्तरियामा गरिएको परीक्षणमा डडेल्धुराबाट आयात गरिएको काउलीमा हानिकारक विषादी भेटिएको हो ।

प्रयोगशालामा गरिएको परीक्षणमा काउलीमा अर्गानोफस्फेट ४७.९५६ रोकावट प्रतिशत भेटिएको प्रयोगशालाले जनाएको छ । जुन उपभोगका लागि एकदमै हानिकारक भएको प्रयोगशालाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए । प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको परीक्षण गरिँदै आएको छ । उक्त काउलीमा कार्बोमेटको ११.१५४ रोकावट प्रतिशत भेटिएको थियो ।

तरकारी फलफूलमा ३५ प्रतिशत भन्दा कम विषादी (अर्गानोफस्फेट) को रोकावट प्रतिशत भेटिएमा खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत सम्म विषादीको रोकावट प्रतिशत भेटिएमा केही दिन भण्डारण गरेर पुनः प्रतिक्षण गरी उपभोग गर्न सकिने र ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट प्रतिशत भेटिएको तरकारी फलफूल खान अयोग्य (रेड लेबल) हुने भएकाले नष्ट गरिँदै आएको छ । सोमबार अर्गानोफस्फेट ४७.९५६ रोकावट प्रतिशत भेटिएको ३० किलोग्राम काउली नष्ट गरिएको प्राविधिक भट्टले बताए ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ अत्तरियामा दैनिक ५ वटा तरकारी तथा फलफूलका नमुनाको विषादी परीक्षण हुँदै आएको छ । जुन नमुना अत्तरियामा रहेको कृषि हाट बजारबाट सङ्कलन गरिँदै आएको छ ।

















