बैतडी – कप्तान नरेन भट्टको शतकमा बैतडीले वाई वाई यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा दोस्रो खेल पनि जितेको छ । दोस्रो जितका क्रममा आज बैतडीले डोटीलाई ६ विकेटले पराजित ग¥यो । जितका लागि पाएको १६१ रनको लक्ष्य बैतडीले २४ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा कप्तान नरेनले अविजित १११ रनको शतकीय पारी खेले । नरेन जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । डोटीका आयुश द्वारिया, प्रकाशराज जोशी, सौर्य श्रेष्ठ र आयुश खड्काले १÷१ विकेट हात पारे । त्यसअघि परशुराम नगरपालिका–१२ स्थित जोगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डोटी ३८ ओभर ३ बलमा १६० रनमा अलआउट भयो । उसका लागि योगेश सुतारले ४४ र आयुश द्वारियाले ४३ रन बनाए ।

बैतडीका सचिन भट्ट र कल्पेश चन्दले ३÷३ र आकाश चन्दले २ विकेट झारे । बैतडीका कप्तान नरेन भट्ट खेलका म्यान अफ द म्याच चुनिए । यसअघि बैतडीले पहिलो खेलमा दार्चुलालाई २०९ रनको ठूलो अन्तरले पराजित गरेको थियो । दोस्रो जितसँगै बैतडी अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनलनजिक पुगेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीवार बैतडी र डडेल्धुरा भिड्नेछन् । जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।

दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।