
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका ८ ओटा वडामध्ये ६ वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार वडा नम्बर १ र २ बाहेक सबै वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।
आगामी आर्थिक वर्षभित्र गाउँपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाको कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की- जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।


















