अत्तरिया- नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

मंगलबार सुदूरपश्चिम, कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, र गण्डकी लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यी चारै प्रदेशसहित लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनीका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

















