खाेज्नुहाेस

बैतडीले दार्चुलालाई २०९ रनले हरायो

Image

बैतडी – वाई वाई यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार शुरुवात गरेको छ । बैतडीले सुखद शुरुवात गर्ने क्रममा पहिलो खेलमा दार्चुलालाई २०९ रनले पराजित ग¥यो । जितका लागि पाएको २८९ रनको लक्ष्य पछ्याएको दार्चुला १४ ओभर ५ बलमा ७९ रनमात्र बनाएर अलआउट भयो । उसका लागि कमलेश विष्टले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

navjiwan hospital

दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए । म्यान अफ द म्याच समेत भएका सचिनले ५ ओभर ५ बलमा २९ रन खर्चेर ६ विकेट झारेका हुन्। दिनेश महराले ३ विकेट लिए । यसअघि परशुराम नगरपालिका–१२ स्थित जोगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ४५ ओभरमा २८८ रन बनायो । जसमा दीपेश बोहराले ९४ रन, सुदीप कार्कीले ४२ रन बनाए । दार्चुलाका निरज पार्कीले ४ विकेट र खगेन्द्र महराले २ विकेट लिए ।

attariya hospital

जितसँगै बैतडी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दार्चुला भने लगातार दोस्रो हारसँगै पुछारमा छ । यसअघि पहिलो खेलमा दार्चुलालाई हराएको डडेल्धुरा दोस्रो स्थानमा रहेको स्कोरर लोकेश जोशीले बताए । प्रतियोगिता अन्तर्गत मंगलवार बैतडी र डोटीबीच खेल हुनेछ । जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको छ ।

दुवै समूहका शीर्षमा पुग्ने टोलीबीच फाइनल खेल असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्येबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीको घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।