बझाङ- भारतको बैग्लुरमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ । ३० वर्षीया प्रेमजलाको शनिबार साँझ मृत्यु भएको हो ।

गत बुधवार राति ११ बजेतिर खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट हुँदा जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । घाइतेमध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि मृतक प्रेमजलाकी आठ वर्षीया छोरी अनिता र चार वर्षका छोरा प्रशान्तको मृत्यु भएको थियो । मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको उपचारमा सहयोग गर्दै आइरहेकी जमुना पौडेलले बताएकी छन् ।