खाेज्नुहाेस

अत्तरियामा सञ्चालित बाख्रापालन तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित बाख्रापालन तालिम सम्पन्न भएको छ । ग्रेप परियोजनासँगको सहलगानीमा गोदावरी नगरपालिकाले आयोजना गरेको तालिम बिहिबार सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए ।

attariya hospital

कार्यक्रममा तालिममा सहभागि प्रशिक्षार्थिहरुलाई प्रमाणपत्रका साथै कृषि क्षेत्रमा आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको थियो । तालिममा सहभागि भएकी नगरपालिकाकै वडा नं. ४ की निर्मला पन्तले आफुले विगतदेखी नै यस्ता तालिमहरु लिएको भएपनि नगरले प्रदान गरेको तालिम बढी महत्वपुर्ण भएको बताईन । उनले तालिममा बाख्रापालन गर्दा आउने समस्या, बाख्राहरुको हेरचाह कसरी गर्ने, रोगहरु कसरी पत्ता लगाउने लगायतका विषयमा जानकारी पाईएको बताईन । उनले तालिममा व्यवसायीक कृषि काम गर्न जरुरी रहेछ भन्ने कुरा पनि सिकिएको बताईन ।

वडा नं. २ की देवा बि.क ले आफुले पहिलो पटक बाख्रा पालन तालिम लिन पाएको बताईन । उनले विगत २ वर्षदेखी बाख्रापालन गर्दै आएको भएपनि पहिलो पटक तालिम लिन पाउँदा खुसी लागेको बताईन । उनले तालिममा बाख्रालाई लाग्ने रोगहरुका बारेमा जानकारी पाईनुका साथै बाख्रामा पर्ने जुका तथा घाँसबाट पनि जुका सर्न सक्छ भन्ने कुरा जानकारी पाईएको बताईन ।

त्यतिमात्रै नभई बाख्राको खोरमा जाँदा सावधानी अपनाउनुपर्छ भन्ने विषयमा पनि तालिममा ज्ञान पाईएको उनले बताईन । उनले तालिममार्फत व्यवसायीक बनाउनका लागि नगरपालिकाले सामग्री पनि प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरिन । अर्का कृषक नरेन्द्र सिँह धामीले बाख्रा पालन गर्दै आएका किसानहरुका लागि तालिम प्रभावकारी भएको बताए । उनले आफुले पनि विगत ११ वर्षदेखी बाख्रा पाल्दै आएकोमा यस्ता तालिमहरुले किसानहरुलाई व्यवसायीक बन्न मद्दत गर्ने बताए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै नगरपालिकाका नायब पशु सेवा प्राविधिक टेक शाहुले विज्ञापन मार्फत बाख्रापालन तालिम सिक्न चाहनेलाई सहभागि गराईएको बताए । उनले भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कार्यरत डाक्टर र नगरपालिकाको पशु सेवा शाखामा कार्यरत डाक्टरहरुले प्रशिक्षण दिएको बताए । उनले किसानहरुले अपेक्षा गरेका कृयाकलापहरुलाई समावेश गरेर तालिम आयोजना गरिएको बताए ।

उनले तालिममा आहार व्यवस्थापन, प्रजनन् स्वास्थ्य, रोग व्यवस्थापन, बजार व्यवस्थापन लगायतका कुराहरु सिकाईएको बताए । उनले बिमा सम्बन्धी र व्यवसाय दर्ता सम्बन्धी पनि तालिममा जानकारी दिईएको बताए । उनले त्यसपश्चात जैविक सुरक्षा सम्बन्धीका सामग्रीहरु तालिममा सहभागिहरुलाई प्रदान गरिएको बताए । जसमा फर्ममा प्रयोग गरिने चुना, लगाउने गमबुट, दोमुखे कुटो, हाते पञ्जा, एउटा डिजिटल थर्मामिटर लगायत रहेको उनको भनाई छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भले व्यवसायीक रुपमा कृषी काम गर्न जरुरी रहेको बताए । उनले परम्पराग रुपमा प्रत्येक व्यक्तिले कृषि काम गर्दै आएकोमा अब त्यसलाई विकसीत गरि व्यवसायीक बन्नुपर्ने बताए ।

‘हामीले प्रत्येकले घरमा ११ गाई, भैसी या बाख्रा पालेकै हुन्छौ’ उनले भने ‘अब त्यसलाई व्यवसायीकरण गर्ने बेला आएको छ, आफ्नो लागि मात्रै नभई आफ्नो आम्दानीको लागि पनि अब कृषिलाई व्यवसायीक रुपमा अघि बढाउन जरुरी छ ।’ उनले त्यसका लागि किसानहरुले सबैतिर नभई एकतिर मात्रै ध्यान दिदाँ बढी फाईदा लिन सकिने बताए । उनले त्यसो हुँदा नगरपालिकाले पनि पकेट क्षेत्रका रुपमा विकास गर्न सक्ने र नगरका तर्फबाट कृषकका मागका आधारमा आवश्यक सहयोग गर्न सक्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्टले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे । उनले नगरपालिकाले कृषि कर्म गरिरहेकाहरुलाई व्यवसायीक बनाउन उक्त तालिमको आयोजना गरेको बताउदै त्यो तालिममा सिकेको सिपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्ने तिर ध्यान केन्द्रित गर्न अनुरोध गरे । ‘तपाईहरु व्यवसायीक रुपमा अगाडी बढ्नुस, तिन दिनको तालिमको पुर्ण रुपमा सदुपयोग गर्नुस, आफ्नो जिवनस्तरलाई अगाडी बढाउने हिसाबले लाग्नुस’ उनले भने ‘आगामी आउने नयाँ बजेटमा तपाईहरुका पक्षमा नगरपालिका रहनेछ ।’

उनले कृषकहरुको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापनका लागि पनि नगरपालिका लागिरहेको बताए । ‘छाडा चौपायाको लागि यसअघिका जनप्रतिनिधिले १० करोड भन्दा बढी रकम खर्च गरिसकेको हामीले देख्यौ, तर समस्या जस्ताको तस्तै छ’ उनले भने ‘त्यसैले बिना योजनाको बजेट छुट्याएर आर्थिक भार थप्नुभन्दा पनि योजनावद्ध रुपमा छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।’ उनले छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिकाले स्थानको खोजि गरेको र त्यसलाई पार्कको मोडालिटिमा लैजाने किसीमले योजना बनीरहेको बताए । उनले आफुले निर्वाचनताका पनि सो समस्याका बारेमा जानकारी पाईसकेकाले त्यसको समाधानका लागि आफु जस्तो सुकै अवस्थामा पनि प्रतिबद्ध रहेको बताए ।