बैतडी- जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।
उनीहरुले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् । चालु आर्थिक वर्षमा अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा. धिरज जैसवालले बताए ।

अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसक्दा पनि कुनै सुनुवाइ नभएको बताए । उनले आफूहरुका समस्याका विषयमा ठोस पहल र निर्णय नभए आइतवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने बताए ।
अस्पताल विकास समितिकी अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन् ।
























