अत्तरिया – १० महिनादेखि तलब नपाएका स्वास्थ्यकर्मीले कालोपट्टि बाँधेर काम गरिरहेका छन । सोमबार देखि सुदूरपश्चिमका सीमा नाकामा कार्यरत २७ जना कर्मचारी हात र टाउकोमा कालोपट्टि बाधेर काम गर्न थालेका हुन । सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौला लगायतका सिमानाकाका हेल्थ डेस्कमा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निरास बनेका छन् ।
हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमा रहेका हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी तलब पाएका छैनन् ।


गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले एक साता सम्म हातमा कालोपट्टि बाधेर काम गर्ने र, त्यसपछि पनि माग सुनुवाई नभए सेवा नै बन्द गर्ने बताए । ‘माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ’, भण्डारीले भने, ‘स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।’
स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए । सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब नपाउँदा खर्च चलाउन समेत समस्या भइरहेको बताएका छन ।
हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमुना जाँच हुने गरेको छ । हेल्थ डेस्कमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अहेव, अनमी लगायत कार्यालय सहयोगीहरू कार्यरत रहेका छन् ।

















