अत्तरिया- डोटीको आदर्श गाउँपालिकाका विद्यालयहरूको आधारभूत तह शिक्षा परीक्षा (कक्षा ८) को नतिजा दयनीय आएको छ । पालिकाका तीन विद्यालयबाहेक अन्य विद्यालयको नतिजा निकै दयनीय आएको हो ।
भैरव एकेडेमी बाँझमा अध्ययनरत ७ विद्यार्थीमा ७ जना नै उत्तीर्ण भएका छन् भने सरस्वती आवि चाँसीमा अध्ययनरत १३ विद्यार्थीमध्ये ११ जना र मुना मेमोरियल एकेडेमी देहीमाण्डौँका ९ मध्ये ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यी तीन विद्यालयबाहेक अन्य विद्यालयको नतिजा भने निकै दयनीय छ । पालिकामा रहेको महादेवेश्वरी आवि ऐलीको नतिजा निल आएको छ । ८ जना विद्यार्थी रहेको सो विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन सकेका छैनन् ।
पालिकाका अधिकांश विद्यालयबाट एक/दुई जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । २५ जना विद्यार्थी रहेको नमादेव मावि साउँदकाँडा र १४ विद्यार्थी रहेको बबिना आवि बबिनाबाट १/१ जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् भने ४४ विद्यार्थी रहेको दुर्गा आवि देहीमाण्डौँ, ४० विद्यार्थी रहेको प्रभात मावि देहीमाण्डौँ र ५१ विद्यार्थी रहेको गिरीचौका माविबाट २/२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
त्यसैगरी ४० विद्यार्थी रहेको लक्ष्मी मावि काँडी, १५ विद्यार्थी रहेको सरस्वती आवि पिडबाट ३/३ जना, ५८ जना विद्यार्थी रहेको भैरव मावि बाँझककानी र ३७ जना विद्यार्थी रहेको कालिकास्थान मावि दहकालिकास्थानबाट ४/४ जना र ३७ विद्यार्थीमध्ये कालीभैरव मावि कोटान्जरका ९ जना विद्यार्थी मात्रै उत्तीर्ण छन् । भगवती मावि तलाराका ६५ विद्यार्थीमध्ये ३०, शारदा मावि मौवाका ६१ विद्यार्थीमध्ये २२ र मष्टामाण्डौ मावि लामिखालका ४० विद्यार्थीमध्ये १४ विद्यार्थी मात्र उत्तीर्ण छन् ।
पालिकाभरका कक्षा ८ सम्म सञ्चालित सामुदायिक तथा संस्थागत सबै १७ ओटा विद्यालयमा अध्ययनरत ५६४ विद्यार्थीमध्ये १२२ जना विद्यार्थी मात्रै कक्षा ८ को परीक्षामा उत्तीर्ण भएका हुन् ।
यसैबिच पालिकास्तरीय नतिजा निराशाजनक आएपछि गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले कि गर कि छोडको नीतिअनुरूप आगामी दिनमा घनिभूत छलफल गरी सुधारतिर लाग्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदर्श गाउँपालिका अन्तरगत कक्षा ८ को नतिजाले हामी सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । आवश्यकताअनुसार दरबन्दी स्रोत व्यवस्थापन तालिम र अनुगमनको पाटोले मात्रै पुग्दो रहेनछ । सबै जिम्मेवार हुनु आवश्यक छ । कि गर कि छोडको नीतिअनुरूप आगामी दिनमा घनिभूत छलफल गरी सुधार गर्न लाग्नेछौँ । धैर्यताका साथ प्रतिक्रिया दिन अनुरोध गर्दछौँ ।’