बेलौरी– कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले लाखौँ रुपैयाँ बराबरका चोरी तस्करीका सामानहरु बरामद गरेको छ । विहिवार र शुक्रवार (२४) घण्टामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरी तथा मातहतका विभिन्न बोर्डर आउट पोष्ट (बीओपी) हरुबाट खटिएका गस्ती टोलीले सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएका लाखौं मुल्य बराबरका सुर्तीजन्य सामानहरु, मोटरसाइकल तथा प्रतिबन्धित खाद्य सामग्रीहरु बरामद गरेको हो ।
शुक्रवार सीमा सुरक्षा गुल्म बेलौरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक शालिकराम थारुको कमाण्डमा खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका स्थित नेपाल–भारत सीमा क्षेत्रमा से २ प ९५१५ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको १०० केजी प्रतिबन्धित माछा बरामद गरेको छ । बरामद मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको र प्रतिबन्धित माछा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


त्यस्तै शुक्रवार नै पुनर्वास नगरपालिका– ४ स्थित कार्गिल चोक भित्री ईलाकामा बिओपि आपतालबाट खटिएको पैदल सीमा गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली बा.प्र. ०२–०२६ प ४३३२ नम्बरको मोटरसाइकलमा नेपाल ल्याउँदै गरेको १ लाख ५७ हजा ९५० मुल्य बराबरको किराना र सुर्तीजन्य सामानहरु बरामद गरी भन्सार बुझाइएको छ ।
यसैगरी विहिवार सशस्त्र प्रहरी बल नेपाल बिओपि पचुईबाट खटिएको सीमा पैदल गस्ती टोलीले बेलौरी नगरपालिका १० सडकघाट सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छली भारतीय नम्बर प्लेट UP२६ M ८२१० को मोटरसाइकलमा राखेर नेपाल ल्याउँदै गरेको प्रतिबन्धित माछा १०० के.जी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको मोटरसाइकल कैलाली भन्सार कार्यालयमा बुझाइएको छ भने माछा भने नष्ट गरिएको छ । त्यस्तै पुनर्वास नगरपालिका–४ कार्की चोक क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी आँपतालबाट गस्ती टोलीले भारतबाट लुकाइछिपाइ ल्याइएको मूल रु. ७,२००।–बराबरको ७२ लिटर प्रतिबन्धित पेय पदार्थ (डियु) बरामद गरेको थियो । बरामद गरिएको पेय पदार्थ प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


















