बेलौरी- कञ्चनपुरको बेलौरीमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी दुई दिने नि:शुल्क चेकजाँच शिविर सञ्चालन गरिएको छ । बेलौरी नगरपालिकाको स्वास्थ्य शाखाले आज र भोलि दुई दिन महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी नि:शुल्क शिविर सञ्चालन गरिरहेको हो ।
आज (मङ्गलबार) बेलौरी नगरपालिका-१० भुडास्थित भगवानपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पाठेघरको मुखको क्यान्सर, (अब्ष्टेटिक फिस्टुला) आङ खसेको, स्तन क्यान्सरको पहिचान लगायतका महिला प्रजनन स्वास्थयमा देखिने समस्याको लागि शिविर सञ्चालन गरिएको नगरपालिकाकी सिनियर अनमी निरीक्षक इन्द्रा गुरुङले बताइन् ।


गुरुङका अनुसार आज एक दिन भुडामा शिविर सञ्चालन गरिएको छ भने भोलि बेलौरी नगरपालिका-५ रामनगरमा शिविर सञ्चालन गरिनेछ । आजको शिविरबाट करिब २ सयभन्दा बढी महिलाहरुले चेकजाँच गराउने अनुमान गरिएको उनले बताइन् । ‘अहिलेसम्म ८५ जनाले चेकजाँच गरेका छन्, बिहानैबाट शिविर चलेको हो’, गुरुङले भनिन,’ बेलुकासम्म २ सय महिलाहरुको चेकजाँच गराउने लक्ष्य लिएका छौ ।’
शिविरमा चेक गराउन आएका महिलाहरुमा समस्या देखिए रिफर गरिरहेको गुरुङले बताइन् । उनले अहिलेसम्म ३ जना महिलालाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइसकेको बताइन् । बेलौरी जस्तो ग्रामीण क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने गुरुङले बताइन् ।
गुरुङले महिलाहरूमा प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्य बोझका कारण खानपान र सरसफाइमा ध्यान नदिने जस्ता कारणले पाठेघरको समस्या आउने गरेको छ ।
















