डडेल्धुरा- डडेल्धुरामा चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरी कारागारबाट छुटेकै दिन एक युवकले फेरि चोरी गरेका छन् । बैतडीको मेलौली नगरपालिका-९ रोकटा घर भएका २२ वर्षीय गोरखबहादुर चन्दले फेरि चोरी गरेका हुन् ।

डडेल्धुरा प्रहरीका अनुसार भागेश्वर गाँउपालिका-३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चन्दले यही चैत ११ गते चोरी गरेका थिए । उनले नगद ४८ हजार र अन्य खुद्रा सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए ।

चन्दलाई १६ गते पक्राउ गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक करवीर सिंह ऐरले बताए ।
चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरी डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका उनले छुटेकै दिन चोरी गरेका थिए ।

















