डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा विवाद उत्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट भएको छ । बिहीबार कार्यपालिका बैठक बसिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठक चलिरहेका बेला नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधीहरुले कुटपिट गरेको नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

कार्यपालिकामा उपमेयरसहित नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका प्रमुख प्रशासकीय अधिकृत जोशीको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा तीनवटा टाँका लगाइएको र गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय पत्रकार पदम जोराका अनुसार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न कार्यपालिका बैठक डाँकिएको थियो । बैठकमा विवाद भएपछि माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले कुर्सी हानेको प्रवक्ता सिंहले जानकारी दिए ।

















