अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एचआईभिमा हुन सक्ने लाल्छाना र भेदभाव सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालय कञ्चनपुरले शनिबार कृष्णपुरका जनप्रतिनिधि र सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

एचआईभि संक्रमितहरुलाई समाजमा गरिने व्यवहार र लाल्छानामा कमी ल्याउन र एचआईभिको अवस्थाको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताईएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका छयकुष्ठ अधिकृत उद्धव ठगुन्नाले एचआईभि एड्सका बारेमा समाजको नकारात्मक धारणाका कारण अझै पनि खुल्न सक्ने अवस्था नरहेको बताए ।

उनले एचआईभि एड्स भन्ने वित्तिकै मानिसको सोचाई परिवर्तन हुने र त्यसप्रतिको धारणा नकारात्मक हुने हुँदा संक्रमितहरु अझै पनि खुलेर बाहिर आउन नसकेको बताए । ‘एचआईभिलाई सन २०३० सम्म सरकारले अन्त्य गर्ने सरकारले लक्ष्य लिएको छ भने सन २०२६ सम्म आमाबाट बच्चामा सर्ने एचआईभिलाई अन्त्य गर्ने लक्ष्य लिएको छ’ उनले भने ‘त्यहि अनुरुप विभिन्न प्रचारका कार्यहरु हुदै आएका छन, विभिन्न एनजिओ÷आईएनजिओ मार्फत कार्यक्रमहरु सञ्चालन भैरहेका पनि छन ।’
उनले प्रचारप्रसारको अवस्था राम्रो रहेपनि समाजमा अझै पनि त्यसप्रतिको व्यवहार परिवर्तन नभएकाले संक्रमितहरु खुलेर आउन नसकेको बताए । उनका अनुसार कञ्चनपुरमा झण्डै ४ सयको हाराहारीमा एचआईभि संक्रमितहरु रहेका छन । त्यसमध्ये ६७ जना भने कृष्णपुर नगरपालिकामा रहेको उनले बताए । उनले प्रदेश सरकारले जिल्लाका प्रत्येक पालिकाहरुमा उक्त कार्य गरिरहेको बताए ।



















