पत्रकार हुँ भन्न हिचकिचाउने र ?

अत्तरिया- कुनै बेला रेडियो सुन्न खुबै रमाइलो लाग्थ्यो । अहिले पनि रमाइलो नलाग्ने त होइन, तर अहिले त्यति सुनिदैन । म १३/१४ वर्षकी थिएँ होला, उतिबेला गाउँमा सबैसँग रेडियो हुन्थ्यो । बिहानदेखि रातिसम्मै रेडियो नघन्काउने सायदै कोही हुन्थ्यो होला ।

maya metro hospital

हाम्रा आमाबुवाले पनि खुबै रेडियो सुन्नुहुन्थ्यो । बिहानीपख आउने भजन, राशिफलका कार्यक्रम आमाले खुबै रुचिका साथ सुन्नुहुन्थ्यो । उहाँहरुले सुन्दै गर्दा मैले पनि सुनिरहेकी हुन्थे । मलाई त्यतिबेला किनकिन मेरो आवाज पनि एकदिन यसरी नै रेडियोमा आउँछ जस्तो लाग्थ्यो । बोल्छुँ भन्ने कुनै त्यस्तो रहर त होइन तर पनि कता कता रेडियोमा मेरो आवाज पनि आउँछ अनि आमाबुवाले आफ्नी छोरीको आवाज पनि सुन्न पाउनुहुन्छ भन्ने लाग्थ्यो ।

मेरो मनमा यो कुरा रेडियो कतै पनि बजेको सुन्दा प्रायजसो आइ नै रहन्थ्यो । मैलै यो कुरा बहिनीहरुसँग पनि भनेकी थिएँ रे । रे भनी भन्नुहोला मलाई साँच्चै याद छैन । तर मलाई दिप्ती बहिनीले अहिले पनि भनिरहेकी हुन्छे, ‘दिदी तैँले मेरो आवाज पनि आउँछ रेडियोमा भन्थिस्’, भनेर । दिप्ती को हो भन्नुहोला फेरि । उ मेरी आमाकी बहिनी यानिकी मेरी आन्टीकी छोरी हो ।

attariya hospital

अब रेडियोको यात्रा कसरी सुरु भयो त्यता जाउँ हैन त ? एसएलसी दिएपछिको खालि समय थियो, त्यही बेला बेलौरी बजार अर्थात् मेरो गृह पालिकाको बजारमा रहेको रेडियोमा कर्मचारी खोजिएको थियो । रेडियोले आवेदकहरुलाई एक हप्ताको तालिम पनि दियो । म तालिममा सहभागी भएँ । तालिमपछि उक्त रेडियोले रोजगारीका लागि परीक्षा पनि लिएको थियो । जसमा म प्रथम भएकी थिएँ । हामी ६ जना प्रतिस्पर्धी थियौँ । मलाई थाहा छैन त्यो तालिम अनि परीक्षा कति महत्वपूर्ण थियो, साँच्चै भन्ने हो भने तालिमका धेरै कुरा अहिले याद पनि छैनन् । यद्यपि त्यो नै मेरो रेडियो पत्रकारिताको पहिलो तालिम पनि थियो ।

कामका लागि प्रथम भएरै छानिए पनि रेडियो जान डेरा गरी बस्नुपर्ने अवस्था थियो । घरबाट एक्लै बस्न सक्लि या नसक्लि भन्दै चिन्ता मानिन थालियो । मलाई पनि डेरा बस्न आउन गाह्रो नै लाग्यो । त्यसपछि प्लस टु सकेर मात्रै म फेरि त्यही रेडियोमा आएँ । संयोगले उहाँहरुलाई कर्मचारी आवश्यक थियो, मलाई काम । अनि मैले उही रेडियोमा काम थाले । रेडियोको नाम भनिन भन्नुहोला फेरि सुदूरसञ्चार हो है ।

यसरी रेडियोबाट सुरु गरिएको पत्रकारिताका ६ वर्ष बितिसके । म अहिले पनि उही पेसामा छुँ । विभिन्न चुनौती त छन् नै तर पनि यो पेसामा जोडिएर कहिले पछुताउनु परेन । सिक्दै काम गर्दै जाने क्रम जारी नै छ । कसैले के गर्छ्यौ भनेर सोध्दा म पत्रकार हुँ त भनिन्छ । धेरैले पेसाको सम्मान गरे पनि ए! पत्रकारिता पो भन्दै नाक खुम्च्याउने पनि नभेटिएका भने होइनन् ।

पत्रकारिता गर्नुहुन्छ ? तलब चैँ कति छ ? कमाउन चैँ काँ बाट कमाउनुहुन्छ ? मिडियाले कसरी कमाइराछन् अचम्म लाग्छ, भन्ने शब्दहरु सौभाग्यवश मैले पनि सुन्न पाएकी छुँ । अन्य पेसामा आवद्धहरुले सुनकै हात्ती बोकेर हिँडेजस्तो कस्तो संकीर्ण सोच राख्न सकेका । फेरि मैले अरु पेसालाई होच्याएर भन्न खोजेकी होइन, अनर्थ नलागोस् । आ-आफ्नो पेसाप्रति सबैलाई माया नै हुन्छ । सके सम्मान गरौँ नसके यस्ता प्रश्न त नगर्नु नि ।

प्राइभेट संस्था कति चल्लान्, कति नै पार लाउला यो पेसाले, बरु आयोगको तयारी गरे हुने, सरकारी भनेको सरकारी नै हो भन्ने सुझाव पनि बेलाबखत आइ नै रहन्छन् । उहाँहरुको सुझावमा कुनै खोट छैन तर, सबैले पत्रकारिता छोडे भोलि मिडिया, समाचार, पत्रिका भन्ने शब्द कता जालान् ? उनीहरुको हत्या नगरे होला कि ? मनमा लागेको जिज्ञासा मात्रै ।

आज विश्व रेडियो दिवसको अवसरमा मैले पनि आफ्ना यत्ति कुरा राखिहाले । सम्पूर्ण सञ्चारकर्मीहरुमा फेरि पनि रेडियो दिवसको शुभकामना छ । फेरि किन भनी भन्ने लाग्ला दिउँस पनि एकपल्ट फेसबुकमार्फत शुभकामना दिएकी थिएँ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.